कोरोनाविरुद्ध नेपालमा बनेको खोपमा डब्ल्युएचको चासो

Posted on: 05 Jun, 2020

जेठ २३, हेटौँडा (रासस) | विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गर्नुभएको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो  । 

जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सबन्धमा छलफल गरेको प्रा. डा. दासले जानकारी दिनुभयो   । यसअघि उक्त प्रयोगशालामा उत्पादित औषधि एवं खोप विवरण डब्ल्युएचओमा पठाइएको थियो । अध्ययन संस्थानका प्रा. दामोदर गैरेको सहयोगमा डब्ल्युएचओमा लिखित जानकारी पठाइएको र छलफलका लागि प्रयोगशाला छनोट भएपछि भिडियो कन्फरेन्समा डा. दासको समूहलाई छलफलमा बोलाइएको बताइएको छ  ।

करीब दुई घण्टा लामो छलफलका क्रममा औषधि बनाउने विधि विषयमा प्रश्न सोधिनाका साथै विभिन्न सहयोगका सम्बन्धमा  समेत छलफल भएको प्रा. गैरेले जानकारी दिनुभयो । “सर्वप्रथम नेपालको सम्बन्धित निकायले खोपको परीक्षण गर्नुपर्छ, त्यसपछि डब्ल्युएचओसँग त्यसको प्रभावकारिता मूल्याङ्कनका लागि पहल गरिनेबारे कुराकानी भयो”, प्रा गैरेले भन्नुभयो । 

उक्त खोपको  परियोजना स्वीकृत भएमा  पाँच लाख अमेरिकी डलर ट्रायल फण्ड प्राप्त हुने बताइएको छ । प्रा. डा. दासले दुई महिनादेखि कोरोना भाइरसविरुद्ध केही एण्टिअक्सिडेण्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडिबुटी लिएर शोध गरी उक्त खोप(औषधि) निर्माण गर्नुभएको जिकिर गर्नुभएको छ   । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!