होम क्वारेन्टिनमा मृत्यु भएका युवकमा सङ्क्रमण

Posted on: 05 Jun, 2020

जेठ २३, सुर्खेत | क्वारेन्टिनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबार बिहान होम क्वारेन्टिनमा मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ का २० वर्षीय युवकको मृत्युपछि पिसीआर परीक्षण गरिएको थियो । 

प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगरमा मृतकको स्वाबको पिसीआर परीक्षण गरिएको हो । यससँगै कर्णालीमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने नेपालमा ११ पुगेको छ । यसअघि शनिबार दैलेख दुल्लुका ३५ वर्षीय युवकको क्वारेन्टिनमै मृत्यु भएको थियो । 

पञ्चपुरी नगरपालिका–१ का वडाध्यक्ष धनबहादुर थापाका अनुसार यही जेठ ९ गते भारतको मुम्बइबाट आएका उनलाई अन्य ५४ जनासँगै विद्यापुरस्थित जनता मावि क्वारेन्टिनमा राखिएको थियो । बुधबार साढे ४ बजे आरडिटी  गर्दा नतिजा नेगेटिभ आएपछि उनलाई होम क्वारेन्टिन बस्ने शर्तमा पठाइएको थियो । सोही राति साढे १२ बजे घर पुगेका ती युवक नजिकैको मौरीपालन स्रोत केन्द्रको भवनमा बसेका थिए । वडाध्यक्ष थापाले कोरोना पुष्टि भएपछि उनीसँगै आएका अन्य युवा र क्वारेन्टिनमा बसेका व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गर्ने तयारी भइरहेको बताउनुभयो । 

नगरप्रमुख उपेन्द्रबहादुर थापाले  शवलाई प्रहरीले सुरक्षा दिइरहेको र वीरेन्द्रनगरबाट सेनाको टोली आइपुगेपछि व्यवस्थापन गरिने जानकारी दिनुभयो । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले शव व्यवस्थापनका लागि वीरेन्द्रनगरबाट नेपाली सेनाको टोली खटिएको बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!