कर्णालीमा कोरोना सङ्क्रमित ५८७ पुगे

Posted on: 06 Jun, 2020

जेठ २४, सुर्खेत | कर्णाली प्रदेशमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको कूल सङ्ख्या ५८७ पुगेको छ । शुक्रबार १०० थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या ४८९ पुगेको थियो । 

आज थप ९८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआरबाट ४४ र कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणबाट ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । 

सुर्खेत र प्रतिष्ठान जुम्लामा आरडिटी पिसिआर परीक्षणबाट आज दैलेख दुल्लु नगरपालिकाका– ३, दैलेख महावु गाउँपालिकाको वडा नं १ मा २९ जनासहित ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महाशाखाका प्रमुख डा तिवारीले बताउनुभयो । त्यसैगरी डोल्पा जगदुल्ला गाउँपालिकामा एक, जाजरकोट बारेकोट गाउपाँलिकास्थित इलाका प्रहरी कार्यालयका एक जना सुरक्षाकर्मीसहित चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उहाँले जनाउनुभयो ।

उहाँका अनुसार सुर्खेत वीरेन्द्रनगर नगरपालिकामा एक, भेरीगङ्गा नगरपालिकामा चार, गुर्भाकोट नगरपालिकामा एक र पञ्चपुरी नगरपालिकामा तीन जनागरी नौ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी वनगाड कुपिण्डे नगरपालिका सल्यानको १–७ वडाका ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखाको आज सार्वजनिक तथ्याङ्कअनुसार सल्यान वनगाड कुपिण्डे नगरपालिकाका दुई, जाजरकोट बारेकोट गाउँपालिकाका एक र दैलेख महाबु गाउँपालिकाका चार गरी कूल सात महिलामा समेत कोरोना सङ्क्रमण देखिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!