आज एकै दिन एक सयले जिते कोभिड–१९

Posted on: 07 Jun, 2020

जेठ २५, काठमाडौँ | नेपालमा आज एकै दिन १०२ कोभिड–१९ का सङ्क्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म ४६७ जनाले कोभिड–१९ लाई जितेका छन् । कोभिड–१९ का सङ्क्रमित दिनहुँ बढिरहे पनि निको भएर घर फर्कनेका सङ्ख्या पनि क्रमिक रुपमा बढ्दै गएको छ । शनिबार ३२ जनाको कोभिड–१९ जितेर घर फर्केका थिए भने त्यसअघि शुक्रबार एकै दिन ४३ जनाले सङ्क्रमण जितेका थिए । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले आज विभिन्न अस्पतालबाट १०२ जना डिस्चार्ज भएका जानकारी दिनुभयो । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा देवकोटाले आज डिस्चार्जमध्ये दुई महिला र १०० पुरुष रहेको बताउनुभयो । अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या ४६७ पुगेको छ । तीमध्ये पुरुष ३९९ र महिला ६८ जना रहेका छन् । उनीहरुमध्ये धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना छन् । ती सबै झापाका हुन् । त्यस्तै बाराका ३४ र महोत्तरीका एकजना छन् । 

बुटवल कोरोना अस्पतालबाट २७ जना डिस्चार्ज भएका छन् । उनीहरु रुपन्देही र कपिलवस्तुका हुन् । कोरोना विशेष अस्पताल दाङबाट बाँके बर्दिया र कपिलवस्तु र दाङका १० जना डिस्चार्ज भएका छन् । रौतहट गौरबाट सबै रौतहटका १८ जनाले कोभिड जितेर घर फर्किएका छन् ।

आज २१३ सङ्क्रमित थपिए

मन्त्रालयको पछिल्लो अपटेडअनुसार देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणबाट नयाँ सङ्क्रमितको सङ्ख्या २१३ रहेको छ । तीमध्ये २०९ पुरुष र चार महिला छन् । योसँगै देशभरको हालसम्म कूल सङ्क्रमित सङ्ख्या तीन हजार ४४८ पुगेको छ । यीमध्ये पुरुष तीन हजार २१२ र महिला २३६ रहेका छन् । हालसम्म देशका ७१ जिल्लामा कोभिड–१९ को सङ्क्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।

९६ हजारको पिसिआर परीक्षण 

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म पिसिआर विधिबाट कूल ९६ हजार २०५ व्यक्तिको परीक्षण गरिएको छ । त्यसैगरी आरडिटीबाट एक लाख ४५ हजार ४९ व्यक्तिको परीक्षण गरिएको छ । गत २४ घण्टामा पिसिआर विधिबाट तीन हजार ७२८ र आरडिटी विधिबाट सात हजार ६१४ वटा परीक्षण सम्पन्न भएको प्रवक्ता डा देवकोटाले बताउनुभयो । हाल सातै प्रदेशमा गरी एक लाख ७० हजार ७३२ जना क्वारेन्टिनमा रहेका छन् । 

त्यस्तै विभिन्न अस्पतालका आइसोलेशनमा कूल दुई हजार ९६८ सङ्क्रमित व्यक्ति उपचाररत रहेका छन् । क्वारेन्टिन व्यवस्थापन र अस्पतालको आइसोलेशन व्यवस्थापनका लागि मन्त्रालयले विशेष ध्यान दिएको प्रवक्ता डा देवकोटाले बताउनुभयो । 

यसै सन्दर्भमा मन्त्रालयले देशभरका सबै किसिमका अस्पतालबाट के कस्ता सेवा सञ्चालन भएका छन् र हुनुपर्ने सेवा किन भइरहेको छैन भनी अनुगमन, सुरक्षाको व्यवस्थापन र नियमन गर्ने उद्देश्यले एक समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा प्रमुखको संयोजकत्वमा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी), नेपाल मेडिकल काउन्सिल र नेपाल चिकित्सक सङ्घ तथा निजी अस्पतालका छाता सङ्गठनको प्रतिनिधित्व रहने गरी समिति गठन गर्ने निर्णय भएको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।

प्रवक्तामा गौतम

मन्त्रालयको प्रवक्ताको जिम्मा मन्त्रालयकै डा जागेश्वरप्रसाद गौतमले सम्हाल्नु हुने भएको छ । उहाँले सोमबारदेखि लाइभ प्रसारण गर्नुहुनेछ । डा गौतम यसअघि परोपकार तथा प्रसूतिगृहका कार्यकारी निर्देशक हुनुहुन्थ्यो । डा देवकोटाको गुणस्तर तथा नियन्त्रण महाशाखामा सरुवा भएको छ । प्रवक्ता डा देवकोटाले चैत ११ देखि ७६ दिन लाइभ अपडेटले अफूलाई धेरै कुरा सिकाएको भन्दै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई धन्यवाद दिनुभयो । उहाँले आफ्नो जिम्मेवारी हेरफेर भए पनि लाइभ प्रसारण निरन्तर रहने र यसमा सहयोग गर्न सरोकारवालालाई आग्रह गर्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!