दिनभरि प्रजिअले फोन सम्पर्क गर्न नसक्दा

Posted on: 07 Jun, 2020

हेमन्त केसी | जेठ २५, जाजरकोट | गत शनिबार दिनभर जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई निकै तनाव भयो । उहाँ बिहानदेखि बेलुकीसम्म जिल्लाको बारेकोट गाउँपालिका–१ रामीडाँडामा एक प्रहरीसहित चारजनामा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएपछि सो खबर बारेकोटसम्म पुर्याउन हम्मेहम्मे हुँदा तनाव भएको थियो । दुई दिनदेखि जाजरकोटको आकाश सफा नहुँदा सूर्यको किरण जाजरकोटी भूमिमा परेको थिएन । 

उता जेठ १२ गते सुर्खेतस्थित प्रयोगशालामा पठाएको स्वाब कोरोना भाइरस भएको पुष्टिसहित १३ दिनपछि  मात्र  रिपोर्ट आएको थियो । कोरोना सङ्क्रमण भएको खबरका साथै अन्य सुरक्षाका विधिका विषयमा सल्लाह गर्न प्रजिअ पन्तले गरेको दिनभरिको प्रयोस बेलुकीमात्र जाजरकोटी आकाशमा जब घामका किरणहरु बादल छिचोल्दै बारेकोटीको भूभागमा परेपछि मात्र फोन सम्पर्क गर्न सम्भव भयो । 

यो समस्या बारेकोट गाउँपालिकामा मात्र होइन, जिल्लाका अधिकांश ठाउँमा रहँदै आएको छ । जाजरकोटको आकाशमा बादलले ठम्म ढाक्न थालेपछि सदरमुकामबाट बाँकी छवटा स्थानीय तहमा फोन सम्पर्क गर्न यहाँका सर्वसाधारणलाई फलामको चिउरा चपाए झैँ हुन्छ । घाम नलाग्दा ग्रामीण क्षेत्रमा रहेका नेपाल टेलिकमको नमस्ते र स्काई प्रविधिको टावरमा जोडिएका सोलारहरु चार्ज नहुँदा विद्युत् आपूर्ति रोकिएपछि एकै साथ सबै टावर बन्द हुन्छन् । 

जिल्लाका सबै ठाउँमा नमस्तेको टावरसमेत निर्माण गरिएको छैन । बढी ठाउँमा स्काई प्रविधिको टावरहरु मात्र बनाएका छन् । तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महराको पालामा निर्माण गरिएका जाजरकोटका टेलिफोन टावरहरुले अहिलेसम्म काम गरिरहेका छन् । टावरले काम नगर्दा सबैभन्दा बढी जिल्लाको बारेकोट गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा समस्या हुँदै आएको छ । 

दूरीका हिसाबले सदरमुकामबाट बारेकोट ७२ किलोमिटरभन्दा बढी र जुनिचाँदे ९२ किलोमिटरभन्दा बढिरहेको छ । यातायातको सहज पहुँच नभएका यी स्थानीय तहमा सूचना लिन र दिनसमेत मुस्किल हुँदै आएको छ । जिल्लाका नलगाड नगरपालिकाको ४० प्रतिशत ठाउँमा अझै टेलिफोनको पहुँच नभएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “टावर निर्माण गर्ने भन्दै खनिएका खाडलहरु, टावरका सामग्रीहरु लथालिङ्ग छन् तर टावर बनाउने ठेकेदार बेपता भएको छ । जति पटक सम्पर्क गर्न खाजेपछि सम्पर्कमा आउँदैनन् ।”

त्यस्तै छेडागाड नगरपालिकाको ६० प्रतिशत भूभागमा फोनको पहुँच नभएको छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाकै प्रशासकीय केन्द्र मनघाटमा फोन लाग्दैन । फोन गर्न एक घण्टामाथिको डाँडामा जानुपर्छ । बाहिर जिल्लाबाट फोन गर्ने साथीहरुले किन सधैँ फोन अफ गरेको भनेर गुनासो गर्नुहुन्छ तर मेरो बाध्यता कसले बुझ्छ र रु टावर बनाउने ठेकेदारलाई जति पटक भने पनि केही नलाग्ने भयो ।” 

शिवालय, कुशे गाउँपालिकामा पनि सोही समस्या रहेको छ । सात टावर निर्माण कार्य रोकियो  । जाजरकोटका ग्रामीण भेगका विभिन्न स्थानमा नेपाल टेलिकमको टेलिफोन टावर निर्माणको जिम्मा लिएको भारतीय कम्पनीका निर्माण व्यावसायीहरुले लामो समयदेखि टावर निर्माणको काम नगर्दा अलपत्र गरेको छ । निर्माण कम्पनीले जाजरकोटका जनप्रतिनिधि र स्थानीय प्रशासनलाइ टावर बनाउने भन्दै लिखित सम्झौता गरे पनि नटेरेको पाइएको छ । 

दुई वर्षअघि जिल्लाका विभिन्न छ वटा स्थानमा टेलिफोन टावर निर्माणको जिम्मा लिएको भारतीय कम्पनी एमएस अस्टर प्रालिका प्रतिनिधिहरुले जिल्लाका जनप्रतिनिधि र स्थानीय प्रशासनसँग गरेको दुईपटकको लिखित वाचाहरुसमेत बेवास्ता गर्दै टावर निर्माणको काम अलपत्र पारेका छन् । 

जाजरकोटका ग्रामीण भेगमा लामो समयदेखिको सञ्चार समस्यालाई हल गर्न सरकारले थालेको काम अलपत्र परेको भन्दै गत कात्तिक १७ गते जिल्ला प्रशासन कार्यालय जाजरकोट र कर्णाली प्रदेशका सांसद गणेशप्रसाद सिंहको समन्वयमा जाजरकोट खलङ्गामा बसेको सर्वपक्षीय बैठकमा उक्त कम्पनीका प्रतिनिधि र नेपाल टेलिकमका अधिकारीहरुले मङ्सिर मसान्तसम्म तीन र माघ मसान्तभित्र थप तीनवटा टेलिफोन टावर निर्माण गर्ने वाचा गरेका थिए ।

प्रजिअ, प्रदेश सांसदहरु र सातवटा स्थानीय तहका प्रमुखहरु तथा अन्य सरोकारवालाहरुको उपस्थितिमा उनीहरुले मङ्सिर मसान्तभित्र नायकवाडा रतनकोट, शेरीगाउँ तथा मजकोटमा र माघ मसान्तभित्र सक्ला पैंक र डाँडागाउँमा टावर निर्माणको काम सक्ने लिखित सम्झौता गरेको भए पनि अहिलेसम्म मजकोटबाहेक अन्य कुनै टावर निर्माणको काम पूरा नगरेको प्रजिअ पन्तले बताउनुभयो  ।

मजकोटमा टावर  निर्माण भए पनि नेपाल टेलिकमले कनेक्शनको काम नगरेको प्रजिअ पन्तले जानकारी दिनुभयो । नायकवाडाको रतनकोट र शेरीमा काम शुरु नै हुन सकेको छैन । त्यहाँका लागि ल्याइएको टावरका सामग्रीहरु नलगाड नगरपालिकाको गेडेनी र सदरमुकाममा थन्किएका छन् । 

निर्माण कम्पनीका प्रतिनिधिहरुले नेपाल टेलिकमका अधिकारीहरुको रोहवरमा कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहसँग पनि छिट्टै काम शुरु गर्ने भन्दै गत साउन १७ गते लिखित वाचा गरेका थिए । पहिलो चरणको बाचा पूरा नभएपछि पुनः जाजरकोट खलङ्गामा स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार नागरिक समाज, नेपाल टेलिकमका अधिकारी र अन्य सरोकारवालाहरुको बीचमा निर्माण कम्पनीका प्रतिनिधिहरुले दोस्रोपटक कात्तिक १७ गते दोस्रोपटक लिखित वाचा गरेका थिए । उनीहरुले दुवै पटकको वाचा पूरा गर्न सकेका छैनन् । नयाँ जेठ मसान्तभित्र निर्माण गर्ने भनिए पनि अझै टावर निर्माणको अत्तोपत्तो नभएको प्रजिअको भनाइ छ । 

वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले आफूले पाएको जिम्मेवारीअनुसार काम गर्न निर्माण कम्पनी र नेपाल टेलिकमका अधिकारीहरुले कुनै चासो र जवाफदेहिता नदेखाएको बताउनुभयो  । “उनीहरुको पारा हेर्दा गाउँमा फोनका टावरहरु तत्काल बन्ने जस्तो लाग्दैन”, अध्यक्ष शाहले भन्नुभयो, “खलङ्गामा भएको सर्वपक्षीय बैठकमा पनि स्थानीय जनता र स्थानीय सरकारलाई पूरै बेवास्ता गर्ने खालको व्यवहार देखाएको र समयमै काम गर्नेतर्फ उनीहरुले कुनै इच्छाशक्ति देखिँदैन ।” रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!