रोल्पामा पहिलो पटक तीन जनामा कोरोना संक्रमण पुष्टि

Posted on: 07 Jun, 2020

जेठ २५, रोल्पा | रोल्पामा पहिलो पटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनिल स्मृति गाउँपालिका गजुलमा एकै पटक तीन पुरुषमा कोरोना संक्रमण देखिएको हो  । यससँंगै प्रदेश नं ५ का सबै जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । 

प्रदेश नं ५ का ११ जिल्लामा कोरोना संक्रमण फैलिएकामा अहिलेसम्म रोल्पामा फेला परेको थिएन । कोरोना संक्रमण पुष्टि हुनेमा गाउँपालिका –५ का २० र २७  वर्षीय तथा वडा  नं ६ का २० वर्षीय युवा रहेको स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत अनिल केसीले जानकारी  दिनु भयो । 

संक्रमित युवा यह जेठ १२ भारतबाट आएका थिए । उनीहरुलाई अलगअलग क्वारेन्टिनमा राखिएको थियो । वडा नं ५ को सूर्योदय आधारभूत विद्यालयको क्वारेन्टिनमा रहेका दुई र वडा नं ६ को जनज्योति मावि क्वारेन्टिनमा रहेका एक जनाको कोरोना पुष्टि भएको हो  ।  क्वारेन्टिनमा बसेका उनीहरुको एक साताअघि स्वाब संकलनका गरी भेरी अस्पताल नेपालगञ्ज पठाइएको थियो ।  

स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन अरुण भिटुका अनुसार जिल्लामा हाल दुई हजार  १२६ जना क्वारेन्टिनमा छन् । तीमध्ये एक हजार ४७६ जना भारतबाट फर्किएका हुन् । 

बैंक व्यवस्थापक पनि संक्रमित

चन्द्रौटा– कपिलवस्तुमा एक बैंक व्यवस्थापकमा कोरोना संक्रमण देखिएको छ । जिल्लाको तौलिहवामा रहेको राष्ट्रिय वाणिज्य बैंक शाखा व्यवस्थापकमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज थप संक्रमित देखिएका २४ जना समेत अब कपिलवस्तुमा कोरोना संक्रमित ५४७ पुगेका छन् ।

 जिल्लाका गाउँपालिका यशोधरामा १५१, मायादेवीमा ५३, शुद्धोधनमा ३० र  विजयनगरमा  २१ तथा नगरपालिका महाराजगञ्जमा १११, कृष्णनगरमा ५२, शिवराजमा ४८, कपिलवस्तुमा ३०, बुद्धभूमिमा  २९ र  वाणगंगामा २२ जनामा संक्रमण भएको पुष्टि भएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!