पहिरोमा पुरिएर दुईको मृत्यु

Posted on: 10 Jun, 2020

जेठ २८, म्याग्दी | जिल्लाको रघुगङ्गा गाउँपालिका–६ रायखोरमा पहिरोमा पुरिएर गएराति दुई जनाको मृत्यु भएको छ । पाचास वर्षीया हमाया शेरपुञ्जा र चार वर्षीया सिम्रन छन्त्यालको पहिरोले परिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माका अनुसार मङ्गलबार राति ११ बजेतिर उनीहरु सुतिरहेको गोठ लेदोसहितको पहिरोले पुरिएको थियो । 

सुतिरहेको अवस्थामा वर्षापछि माथिबाट आएको पहिरोले पुरिएका हुन् । पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ढकबहादुर हमालको नेतृत्वमा गएका प्रहरी र स्थानीयवासीले हमाया र रोशनीलाई मृत फेला पारेका थिए । पहिरोले पुरिएर ढुङ्गा, माटोले बनेको जस्ताको छानोको गोठमा रहेको अन्नपात, भाँडावर्तनलगायत सबै नष्ट भएको छ । पशुचौपायको भने क्षति भएको छैन । थप उद्धार र अनुसन्धानका लागि आज बिहान प्रहरी निरीक्षक शर्माको नेतृत्वको टोली घटनास्थल गएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!