सम्पादकलाई 'सिध्याइदिन्छु' भन्दै धम्की, महासङ्घद्वारा सुरक्षाको माग

Posted on: 15 Jun, 2020

असार १, काठमाडौँ | नेपाल पत्रकार महासङ्घले  समाचार लेखेकै कारण ‘काठमाडौँ प्रेस डटकम’ का प्रबन्ध सम्पादक गोविन्द परियारलाई धम्की दिने व्यक्तिलाई तत्काल कानूनी दायरामा ल्याउन र सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ । 

“समाचारको विषयलाई लिएर काठमाडौँ प्रेस डटकमका प्रबन्ध सम्पादक परियारलाई सुमेग ट्राभल्स एजेन्सीका सञ्चालक मेघ केसीले अपशब्द प्रयोग गर्दै धम्की दिएको घटनाप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ”, महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रबन्ध सम्पादक परियारका अनुसार काठमाडौँ प्रेसले जेठ २५, २६ र ३० गते चार्टर्ड उडानमा महँगो भाडा असुलेको विषयमा विभिन्न शीर्षकमा समाचार सम्प्रषण गरेपछि सोही निहुँमा आफूलाई आइतबार बिहान ११:५ बजे ९८५१०८२५१२ नम्बरको मोबाइलबाट फोन गरी निज केसीले ‘समाचार के आधारमा लेखियो, प्रमाण के छ’ भन्दै अपशब्द प्रयोग गर्दै सिध्याइदिन्छु भनेर धम्क्याएको महासङ्घले जनाएको छ । 

महासङ्घले प्रकाशित समाचारको विषयमा चित्त नबुझे या गुनासो भएमा त्यसउपर कानूनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति भएको जनाउँदै त्यसलाई बेवास्ता गर्दै पत्रकारलाई ठाडो चुनौती दिई अपशब्द प्रयोग गर्दै सिध्याइदिन्छु भनेर धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको ठहर गरेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!