बाँदर धपाएरै बित्छ म्याग्दी मल्लाजका कृषकको दिनचर्या

Posted on: 16 Jun, 2020

असार २, म्याग्दी। बिहानै झिसमिसे उज्यालो हुनेबित्तिकै भुरतुलाको डिलमा रहेको खेतमा पुग्ने जलजला गाउँपालिका–३ मल्लाजका केशर खत्री साँझ रात परेपछि मात्र घर फर्कनुहुन्छ । बाँदरबाट बाली जोगाउन दिनभर खेतमा बिताउने खत्री मल्लाजका एक्ला कृषक हुनुहुन्न । मल्लाजको धेरैजसो कृषकलाई बाँदरबाट बाली जोगाउन हम्मेहम्मे परेको छ । “उज्यालो हुनेबित्तिकै खेतबारीमा पुग्नुपर्छ”, खत्रीले भन्नुभयो, “साँझ नपरुन्जेलसम्म बाली कुरेर बस्नु हाम्रो दिनचर्या बनेको छ ।” 

विज्ञान र प्रविधिको विकासले विश्वले फड्को मारे पनि नेपालका कृषकले बाँदर धपाएर समय बिताउनुपरेको छ । खेतीबाली लगाउने र हुर्काउनजस्तै बाँदरबाट जोगाउनु चुनौती बनेको छ । बाँदर धपाउन कृषकको धेरै श्रम, पसिना र समय खर्च भएको छ ।

आँखा झिमिक्क गर्दा साथ बाँदरले सारा खेतीबाली नष्ट गरिदिन्छ । “खाना र खाजा खाने फुर्सद पनि पाँइदैन”, मल्लाजका मीनबहादुर खत्रीले भन्नुभयो, “बाँदर हेर्न बसेको ठाउँमै खाना–खाजा ल्याइदिन्छन् ।” बाँदर धपाउँदा कतिले भिरबाट लडेर ज्यान गुमाएका छन् । बाँदरले खेतबारीमा फल्दै गरेका बाली मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात नास गरेको छ । खाद्यबालीका साथै तरकारी र फलफूल खानुका साथै बिरुवा उखेलेर नष्ट गरिदिने अर्का कृषक वसन्त विकले बताउनुभयो ।  

“बाँदरको हुल पसेपछि क्षणभरमै खेतीबाली खाने र नष्ट गर्छन्”, उहाँले भन्नुभयो, “धान र गहुँको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा बढी समस्यामा पारेको छ ।” बाँदरको समस्याले वर्षमा २० मुरी धान फल्ने खेतमा बाली लगाउनै छाडेको अर्का कृषक सुनिल केसीले बताउनुभयो । 

वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि अरु कामधन्दा छाडेर बाँदर धपाउनुपरेको कृषकको भनाइ छ । बाँदर धपाउनका लागि खेतबारीको डिलमा छाप्रो नै बनाएका छन् । एक हजार ५०० भन्दा धेरै घरपरिवारको बसोबास रहेको मल्लाजमा ५० हेक्टर बढी खेतीयोग्य जमिन छ ।  वनको विस्तारसँगै जङ्गल वरपरका खेतबारीमा खेती हुन छाडेको छ । आहाराको खोजीमा बाँदरलगायत वन्यजन्तु बस्तीमै आउन थालेका डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले बताउनुभयो ।  

उहाँका अनुसार बाँदरलाई लखेट्न, पक्रन, घाइते बनाउन, मार्न, बन्ध्याकरण गर्न, स्थानान्तरण गर्न, घरमा पाल्न नपाउने नियम छ । टिमुर, सतुवा, चिराइतो, कुरिलो, ओखार, बेसार, कागती, केरा, फुल र घाँसलगायत वैकल्पिक खेती गर्न खनालले सुझाव दिनुभयो । नेपालमा आसामी रातो, रातो र सेतो रङको लङ्गुर बाँदर पाइन्छ । आसामी रातो बाँदर संरक्षित स्तनधारी वन्यजन्तु हो । सेतो लङ्गुर बाँदर एक–दुई वटाको सङ्ख्यामा बस्छ । आसामी र रातो बाँदर भने समूहमा बस्छन् । 

केही स्थानीय तहले बाँदर स्थानान्तरण, धपाउने औजारको विकास र घास खेती गरे पनि सबै ठाउँमा यस्तो प्रयास हुनसकेको छैन । बाँदर आतङ्क नेपालका धेरै ठाउँका कृषकको साझा समस्या हो । सरकारले दीर्घकालीन योजना र उपायको खोजी गरेर बाँदरको समस्या समाधान गर्नुपर्ने कृषकको माग छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!