कुवेतबाट उद्धार गरी ल्याइएकी युवतीमा कोरोना पोजेटिभ

Posted on: 16 Jun, 2020

असार २, पाँचथर | फिदिमस्थित क्वारेन्टिनमा बसेकी एक युवतीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिकाकी २५ वर्षीया युवतीको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ती युवतीमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिनुभयो । पाँचथर बहुमुखी क्याम्पसको क्वारेन्टिनमा गत जेठ ३२ गतेदेखि उनी बसेकी थिइन् । उनको सोमबार स्वाब सङ्कलन गरी पठाइएकामा आज रिपोर्ट आएको सुवेदीले बताउनुभयो । 

कुवेतबाट उद्धार गरी ल्याइएकी उनलाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा राखेर पाँचथर पठाइएको थियो । उनीसँगै विभिन्न मुलुकबाट उद्धार गरेर जिल्लामा ल्याई उक्त क्वारेन्टिनमा राखिएका अन्य तीन जनामा भने कोरोना सङ्क्रमण नदेखिएको सुवेदीले बताउनुभयो । पछिल्लो पटक विदेशबाट आएका चार तथा भारतबाट आएका ५३ जना गरी ५७ जनाको स्वाब परीक्षण गरिएकामा ५६ जनाको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । सङ्क्रमण पुष्टि भएकी ती युवतीलाई कोशी अस्पताल विराटनगर पठाउने तयारी गरिएको सुवेदीले जानकारी दिनुभयो । पाँचथरमा जिल्लाभित्रै पहिलो पटक कोरोना भाइरस सङ्क्रमित भेटिएको हो  । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!