प्रहरीको घेराभित्र चिकित्सक

Posted on: 17 Jun, 2020

असार ३, जाजरकोट | जेठ १० गते सोती घटनामा मृत्यु भएका छ जनाको शव परीक्षण रिपोर्टको विषयलाई लिएर स्वास्थ्य सेवा कार्यालयका पाँच चिकित्सकमाथि विभिन्न आरोप लगाएर भौतिक आक्रमण उत्रिएपछि असुरक्षा बढेको छ ।

काम गर्ने वातावरण नभएको भन्दै चिकित्सकहरु प्रहरीको घेराभित्र बस्न बाध्य भएका छन् । जाजरकोट सदरमुकामभित्र घर भएका चिकित्सकसमेत घर जान नपाएको बताएका छन् । असार १ गते चिकित्सकलाई आक्रमण गर्ने उद्देश्यले गएको जुलुस र प्रहरीबीच स्वास्थ्य सेवा कार्यालय अगाडि झडप हुँदा सेवा कार्यालयको डिजिटल एक्सरे मेसिनमा क्षति भएको थियो । पानीमा डुबेको शव परीक्षण रिपोर्ट तयार किन पारेको आरोप लगाउँदै चिकित्सकमाथि आक्रमणको प्रयास हुँदै आएको छ ।

दैनिक नारा, जुलुसका कारण स्वास्थ्य सेवा कार्यालयमा उपचारका लागि जाने बिरामीमा त्रास बढेकाले तीन दिनदेखि बिरामीको उपचारका खटिएका भेरी नगरपालिका–१ का कालीबहादुर रानाले बताउनुभयो । स्वास्थ्य सेवा कार्यालयमा शव परीक्षणका लागि ल्याएको शवको समेत निर्धारित समयमा परीक्षण गर्ने वातावरण नहुँदा समस्या उत्पन्न भएको स्वास्थ्य प्रमुख सुनिल पुनले बताउनुभयो । “काम गर्ने वातावरण नै छैन, कसरी काम गर्ने ?”, उहाँले भन्नुभयो । 

चार एक्सरे गर्ने मुद्दा आएको थियो, तर आन्दोलनकारीको तोडफोडले एक्सरे मेसिनमा समस्या आएपछि रुकुमपश्चिमको चौरजहारीमा पठाएको डा पुनले बताउनुभयो । नलगाड नगरपालिकाको रघुनाथमासमेत बारेकोट गाउँपालिकाबाट कोरोना जाँचका लागि ल्याइएको स्वाब सदरमुकाम ल्याउने कार्यमा अवरोध गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । 

दैनिक हुने आन्दोलनका कारण संसदीय छानविन समितिको अनुसन्धानमा समेत बाधा पुगेको छ । प्रमाण सङ्कलनमा ध्यान दिनुभन्दा पनि आन्दोलन भड्किलो बनाएर क्षति पुर्याउनेतर्फ अधिकांशको ध्यान गएको सुरक्षा अधिकारीले बताएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!