आत्महत्या गरेका पुरुषमा कोरोना पोजेटिभ

Posted on: 17 Jun, 2020

असार ३, अर्घाखाँची | अर्घाखाँचीमा आत्महत्या गरेका व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ ।  शीतगङ्गा नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

उनी शीतगङ्गा –५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको  क्वारेन्टिनमा बसेका थिए । गत जेठ १० गते भारतबाट घर फर्किएका उनको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि पिसिआर परीक्षणका लागि  जेठ २४ गते  स्वाब सङ्कलन भएको थियो । गए राति उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

जिल्लामा एकै दिन ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिनुभयो ।  यससँगै जिल्लामा कोरोना सङ्क्रमित ११० पुगेका छन्  । कोरोनाका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । 

सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण 

चन्द्रौटा– कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ शिवगढीमा रहेको इलाका प्रहरी कार्यालय सुन्दरीडाँडामा कार्यरत एक प्रहरी जवानमा कोरोना सङ्क्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा ३१ वर्षीय जवानमा कोरोना पोजेटिभ देखिएपछि उनलाई खरेन्द्रपुरमा रहेको आइसोलेशन सेन्टरमा राखिएको शिवराज  ९ का वडाध्यक्ष चुरबहादुर खड्काले बताउनुभयो । 

 आज कपिलवस्तुमा थप १० मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको शिवराज नगरपालिकामा १९ वर्षदेखि ४५ वर्षसम्मका चार, वाणगङ्गा नगरपालिकाका एकएक महिला र पुरुष, बुद्धभूमि नगरपालिकामा  १९ देखि ३० वर्ष उमेरसम्मका चार जनामा कोरोना पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा ६५७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!