सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको तयारी, व्यवसायीको असहमति

Posted on: 17 Jun, 2020

असार ३, काठमाण्डौ | आधा यात्रू राखेर भएपनि सार्वजनिक यातायात खुलाउने सरकारको तयारी रहँदा यातायात व्यवसायीहरुले भने असहमति जनाएका छन् । व्यवसायीहरुले अनुदान र चालक तथा यात्रुको स्वास्थ्य सुरक्षाको व्यवस्था हुनुपर्ने माग राखेका छन् । 

सार्वजनिक यातायात सञ्चालनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र मजदुरबीच छलफल चलिरहेको जनाएको छ । 

सरकारले सार्वजनिक सवारी साधानको सिट क्षमताको आधा सङ्ख्या यात्रु राखेर सावधानी सहित गाडीमा बस्ने सबैले स्यानिटाइजर र मास्कको प्रयोग गर्नुपर्ने लगायतका प्रस्ताव गरेको छ । 

सरकारले यातायात व्यवसायी र मजदुरलाई मर्का नपर्ने गरि भाडा बढाएर भएपनि सार्वजनिक यातायात सञ्चालनको तयारी गरिरहेको छ । तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सामाजिक दुरी कायम गर्न बसमा आधा मान्छे लिएर गुडेपछि आफूहरूको खर्चसमेत नउठ्ने, भाडा मात्र वृद्धि गरेर नहुने, अनुदान र चालक तथा यात्रुको स्वास्थ्य सुरक्षाको व्यवस्था हुनुपर्ने माग राखेका छन् ।

यातायात व्यवसायीहरुले आफ्नो माग सम्बोधन भए सरकारले भनेकै मितिबाट गाडी चलाउने बताउदै आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!