सडक भत्कियो, सबै यातायात सेवा अवरुद्ध, गाउँमा टेलिफोन सेवा अवरुद्ध

Posted on: 21 Jun, 2020

असार ७, जाजरकोट | शुक्रबारदेखिको अविरल वर्षाका कारण जाजरकोटबाट बाहिर जाने र भित्रिने सबै यातायातका साधन अवरुद्ध भएका छन् । शनिबार दिउँसो मात्र सदरमुकाम रहेको भेरी नगरपालिका–३ ठाटीस्थित रेडक्रसमा  सडक भत्किँदा यातायात सेवा अवरुद्ध भएको छ । छिन्चु–जाजरकोट–डोल्पा मुख्य राजमार्गको मूल ठाउँमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको हो । करिब ३० मिटरभन्दा बढी सडक भासिएपछि सबै प्रकारका यातायात सेवा अवरुद्ध भएको हो ।

त्यस्तै जाजरकोट सदरमुकामबाट डोल्पा जाने सबै यातायात सेवा ठप्प भएको छ । बीचबीचमा रहेका खोलामा पानीको मात्रा बढेपछि यातायात सेवा अवरुद्ध भएको हो । जाजरकोट–जुम्ला सडकखण्डको खलङ्गा–पाँचकाटियासम्म चल्ने यातायात सेवा अवरुद्ध भएको जाजरकोट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै छेडाबजार–थलह सडकखण्डको मोर्कखोलामा पानीको बहाव बढ्दा यातायात सेवा अवरुद्ध भएको छ । 

पानी नरोकिएकाले खच्चड सेवासमेत बन्द भएको छ । खोलामा पानी बढेका कारण एक गाउँबाट अर्को गाउँमा जान मुस्किल भएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । खलङ्गा– बारेकोट सडकसमेत अवरुद्ध भएको छ ।

गाउँमा टेलिफोन सेवा अवरुद्ध 

अविरल वर्षाका कारण जाजरकोट सदरमुकामदेखि अन्य स्थानीय तहको फोन सेवासमेत अवरुद्ध भएको छ । घाम नलाग्दा टावरमा विद्युत् आपूर्ति बन्द भएपछि टेलिफोन सेवा अवरुद्ध भएको हो । गाउँ–गाउँमा सूचना लिनसमेत मुस्किल भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । पानी परिरहेकोले गाउँगाउँमा रहेका क्वारेन्टिनमा आवश्यक सेवा प्रवाहमा समेत समस्या भएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!