फोहर गर्नेको विवरण दिनेलाई पुरस्कार

Posted on: 24 Jun, 2020

असार १०, लमही। तुलसीपुर उपमहानगरपालिकाले फोहर गर्ने व्यक्तिको विवरण दिनेलाई पुरस्कार दिने नीति ल्याएको छ । उपमहानगरपालिकाको  आगामी वर्षको नीति तथा कार्यक्रममा फोहर गर्ने व्यक्तिको तस्वीर र भिडियोसहितको विवरण राखी जानकारी दिने व्यक्ति वा संस्थालाई पुरस्कार प्रदान गरिने उल्लेख छ । 

जथाभाबी फोहर फाल्दा बजारको फोहर बाढीले बगाएर किसानको खेतबारीमा पुर्याउँदा खेती गर्न समस्या हुने र उत्पादन घट्ने समस्या देखिएपछि नगरपालिकाले यस्तो नीति बनाएको  नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।  त्यस्तै फोहोर गर्ने व्यक्तिलाई आवश्यक कारबाही गरिनाका साथै  फोहोर गर्नेले मोहर तिर्नुपर्छ भन्ने अवधारणा लागु गरिने छ । टोल विकास संस्थालाई आफ्नो टोल आफैं सफा राखौं अभियानमा सहभागी गराउँदै ग्रिन तुलसीपुर, क्लिन तुलसीपुर अभियानलाई नगरका सबै क्षेत्रमा विस्तार गरिने तथा बेवारिसे लाश र मरेका चौपायाको तत्काल व्यवस्थापन गरिने नीति सार्वजनिक गरिएको छ । 

फोहोर मैला संकलन तथा सरसफाइमा खट्ने कर्मचारीको स्वास्थ्य परीक्षणलगायत अन्य सुरक्षा मापदण्ड अपनाइने र सरसफाइ तथा फोहोर मैला व्यवस्थापनमा टोल विकास संस्था, निजी क्षेत्र सहकारी र समुदायबीच सहकार्य गरिनेछ । त्यसैगरी स्थायी ल्याण्डफिल साइटको व्यवस्था गरिने नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । बजारमा प्लाष्टिक झोलामा कडाइ गरेको उपमहानगरपालिकाले नगर क्षेत्रभित्र २० माइक्रोनभन्दा कमको प्लाटिक झोला प्रयोगमा निषेध गर्ने नीति तथा कार्यक्रममा ल्याएको छ । रासस  


यस बिषयमा तपाइको प्रतिक्रिया...!