आज एकै दिन २४ उडान, आजै १२ सय बढी नेपाली स्वदेश फर्किए

Posted on: 24 Jun, 2020

असर १०, काठमाडौँ | त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन आन्तरिक र अन्तरराष्ट्रिय गरी २४ उडान भएका छन् । ती उडानमध्ये अन्तरराष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकमा पनि आज १० उडान भएका छन् । 

मङ्गलबार पनि अन्तरराष्ट्रियतर्फ १४ उडान भएको थियो । यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । विभिन्न मुलुकबाट उद्धार उडानमार्फत आज एक हजार २०० भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । 

विभिन्न एयरलाइन्सले विदेशमा अलपत्र परेका नेपालीलाई धमाधम चार्टर्ड उडान गरी काठमाडौँ ल्याइरहेका हुन् । आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जेधाहबाट २२५ यात्रु र एक शव नेपाल ल्याएको छ । सोही एयरलाइन्सको जहाजले जापानको नारिताबाट १९ यात्रु ल्याएको छ । पुनः कुवेतबाट नेपाली ल्याउन त्यसतर्फ उडेको विमानस्थलले जनाएको छ ।


त्यस्तै हिमालय एयरलाइन्सले कुवेतबाट १५५, अबुधाबीबाट दुई उडान गरी क्रमशः १४९ यात्रु र तीन बच्चा र दुई यात्रु, दमामबाट १५४ र दोहाबाट २८२ यात्रु काठमाडौँ ल्याएको छ । श्री एयरलाइन्सले म्यान्माको यंगुनबाट नौ यात्रु र एक बच्चा ल्याएको छ भने दोस्रो चार्टर्ड उडानका लागि उक्त एयरलाइन्स म्यान्मा उडेको विमानस्थलले जनाएको छ । 

टर्किस एयरलाइन्सले स्तान्बुलबाट दुई चार्टर्ड उडानमा क्रमशः २८० र २८२ यात्रु काठमाडौँ ल्याएको छ । त्यसैगरी मलेसियन एयरलाइन्सले क्वालालम्पुरबाट दुई उडानमा क्रमशः सात र चार नेपालीको उद्धार गरी काठमाडौँ ल्याएको छ । बिहीबार पनि अन्तरराष्ट्रियतर्फ १३ उडान हुने कार्यतालिका सार्वजनिक गरेको छ । दोहा, दमाम, यङ्गुन, अबुधाबी, बहराइन, क्वालालम्पुर र जापानको नारितामा चार्टर्ड उडान हुने विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका १० उडान भएका छन् । मनाङ र सिम्रिक एयरका हेलिकप्टरले ओखलढुङ्गा, सोलुखुम्बु, वीरगञ्ज र गोर्खामा उडान भरेका छन् भने तारा एयरको जहाजले नेपालगञ्जमा दुई उडान गरेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!