आत्महत्या गरेका युवकमा कोरोना पुष्टि

Posted on: 25 Jun, 2020

असार ११, दैलेख | आत्महत्या गरेका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुल्लु नगरपालिका वडा नम्बर १० गमौडीका २१ वर्षीय युवकमा आत्महत्या गरिसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो । 

उनी गत जेठ ११ गते भारतको अहमदाबादबाट आई दुल्लु नगरपालिकामा रहेको पञ्चकोशी मावि गमौडीस्थित क्वारेन्टिनमा बसेका थिए । बसेको १४ दिनपछि आरडिटी  नेगेटिभ आएपछि उनलाई जेठ २५ गते घर पठाइएको थियो । 

क्वारेन्टिनबाट फर्किएको १६ दिनपछि यही असार ९ गते बेलुकी झुण्डिएको अवस्थामा उनी मृत फेला परेको दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिनुभयो ।   असार १० गते दुल्लु अस्पतालमा लगी शव परीक्षणका साथै कोरोना भाइरस परीक्षण गर्न स्वाब संकलन गरेर कर्णाली प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत पठाइएको थियो । त्यहाँको परीक्षणमा ती व्यक्तिमा कोरोना पोजिटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!