सुधारगृहमा क्षमताभन्दा बढी बालक

Posted on: 03 Jul, 2020

असार १९, राँझा। बाँकेको डुडुवा गाउँपालिका –६ स्थित बालसुधारगृहमा क्षमताभन्दा बढी बालकलाई राखिएको छ ।   गृहमा ७० जना बस्ने क्षमता भए पनि अहिले एक सय बालकलाई राखिएको बालसुधारगृहका प्रमुख विमला काउचा मगरले जानकारी दिनुभयो । 

गृहमा अदालतबाट फैसला सुनाइएका ३९ र नभएका ६१ बालक छन् । गृहमा सबैभन्दा बढी जबर्जस्ती करणी आरोप लागेका बालक  छन् । क्षमताभन्दा बढी भएका कारण गर्मी र कोरोना महामारीका अवस्थामा पनि कोचाकोचका अवस्थामा बालक तथा किशोर बस्न बाध्य छन् ।

गृहको अवस्था बुझ्न बुधबार निरीक्षणमा पुग्नुभएका उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश हेमराज पन्तले क्षमता घटाउनेतर्फ आवश्यक पहल गर्न निर्देशन दिनुभयो । न्यायाधीश पन्तले कम उमेर र बढी उमेर समूहका बालकलाई छुट्टाछुटै राख्ने प्रबन्ध मिलाउन, गृहमा आवश्यक सरसफाइ र स्प्रेको व्यवस्था गर्न र स्वच्छ खानेपानीको उचित प्रबन्ध मिलाउन निर्देशन दिएको जिल्ला अदालत बालन्याय समन्वय समितिका सदस्य अधिवक्ता वसन्त गौतमले जानकारी दिनुभयो ।

गृहमा रहेका बालकमा छाला रोगको समस्या देखिएपछि एक हप्ताअघि मात्र स्वास्थ्य शिविर गरी ७० जनालाई सेवा दिइएको डुडुवा गाउँपालिका –६ का वडाध्यक्ष मोहन मिश्रले बताउनुभयो । सुधारगृहमा रहेका अधिकांश बालकमा दाद, लुतोलगायत समस्या  थियो । भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ छाला रोग विशेषज्ञ डा बद्री चापागाईँले बालकहरुको जाँच गर्नुभएको थियो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!