अस्तव्यस्त सडकः दर्जन घर जोखिममा

Posted on: 06 Jul, 2020

असार २२, बाजुरा। लगातारको वर्षाले  जिल्लाको जनजीवन निकै त्रसित बनेको छ । भिरालो र पाखो जमीनका बस्तीमा पहिराको जोखिम बढेको छ भने सडक बाटो अवरुद्ध हुँदा आवतजावत रोकिएको छ । पहिराकै कारण दर्जनाँै बस्ती जोखिममा परेपछि जनजीवन त्रसित बनेको हो । 

साँफे–मार्तडी सडकअन्तर्गत बल्देदेखि मार्तडीसम्मको आवतजावत आंशिक रुपमा बन्द भइरहने गरेको छ  भने मार्तडी –कोल्टी सडक पूर्ण रुपमा बन्द भएको छ । मार्तडीको बाउली खोलादेखि पोरखे लेकसम्मको बाटो बाढीको पानीले बगाएर क्षति पु¥याएको छ । बाउली खोलाले पूरै बाटाका निशाना नै मेटाएर बगर बनाएको छ  भने  चुथीदेखि माथिको सडकमा पहिरो खसेर सडक भासिएको छ । बीचमा पुगेका सवारी साधन अलपत्र अवस्थामा छन् ।

ट्रयाक्टर बीचमै रोकिएपछि चालकसहित सामानसमेत अस्तव्यस्त अवस्थामा छन् । पाण्डुसैनदेखि वीरसैनसम्म बाटो सञ्चालनमा रहे पनि दानसाँघुमा पुल नहुँदा फेरि सडक बन्द भएको छ । खाद्य पदार्थ ढुवानीदेखि दैनिक आवतजावतमा समेत समस्या भएको छ । 

यस्तै मार्तडी गौमूल, मार्तडी भौनेरा, डाब खप्तड, बेतालमाण्डौ गुदुखातीलगायत क्षेत्रको आवतजावत पनि अवरुद्ध भएको छ । वर्षाले ठाउँठाउँमा पहिरो गएको र घर माथिबाट पहिरो बग्ने र घर भत्किनेक्रम बढेपछि सर्वसाधारण त्रसित बनेका छन् । लगातार वर्षाका कारण भत्किएको सडक अहिले नै बनाउने अवस्थामा नरहेको र मौसममा सुधार आउनेबित्तिकै मर्मततिर लाग्ने गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो । 

अहिलेसम्म मानवीय क्षति नभए पनि भौतिक रुपमा बाटो, घर, सडक र  सिँचाइ कुलो भत्किएर लाखौँ नोक्सान भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाईगोरु चरिचरनमा समस्या देखिएको छ  भने पशुपालक किसानलाई घाँसपात गर्नसमेत मुश्किल बनेको छ । पुराना र जीर्ण बन्दै गएका संरचना भत्किएको र चर्किएको भन्ने खबर आएको प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले बताउनुभयो ।  

डोजरको प्रयोग गरिएका सडकमा बढी क्षति भएको पाइएको छ । भत्किने कार्य पनि ती क्षेत्रमा बढी देखिएको छ । कालोपत्रे गरिएको साँफे –मार्तडी सडक मार्तडी बजार क्षेत्र नजीकै पूर्ण रुपमा क्षति भएको छ । पहिराको उच्च जोखिममा रहेका परिवारलाई सचेत भएर बस्न र सतर्कता अपनाउन प्रहरी प्रशासनले आग्रह गरिसकेको प्रमुख भट्टराईले बताउनुभयो । 

मुसलधारे वर्षाका कारण हुन सक्ने क्षतिलाई ध्यानमा राखी सबैले आआफ्ना क्षेत्रबाट सुरक्षाका लागि तयारी अवस्थामा बस्नुपर्ने सुझाव दिइएको छ । यसैबीच मार्तडी बजार क्षेत्रभित्र दुनी हाट बजार र खेलकूद मैदान आसपास क्षेत्रका घरमा पानी पसेपछि बस्नलाई असहज भएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!