मास्क नलगाई घरबाहिर निस्किनेलाई तत्काल पक्राउ गर्न गृह मन्त्रालयको परिपत्र

Posted on: 06 Jul, 2020

मनोज पराजुली ।असार २२, काठमाडौँ । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

सोमबार दिउँसो प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको गृहका प्रवक्ता केदारनाथ शर्माले साझा सबाललाई जानकारी दिए ।

सरकारले गतअसार १ गतेदेखि लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अबलम्वन गरेको थियो प्रवक्ता शर्माले भने 'उक्त मापदण्ड कार्यान्वयनका लागि प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेका हौँ ।' 

स्वास्थ्य मापदण्ड उल्लंघन गर्नेलाई पक्राउ र जरिवाना सम्मको कारबाहीको दायरामा ल्याउन निर्देशन दिईएको शर्माले बताए । सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएसंगै सरकारी तथा निजी कार्यालय, बजार, कलकारखाना खुलेका छन् । तर मास्क/सेनिटाइजर प्रयोग र सामाजिक दूरी पालना नगर्ने प्रवृत्ति बढ्दै गएपछि सरकारले यसअघी गरेको निर्णय कार्यान्वयनका लागि गृहले परिपत्र गरेको शर्माले  बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!