काठमाडौं उपत्यकाका ५४ जना सहित थप १८० जनामा कोरोना संक्रमण पुष्टि

Posted on: 06 Jul, 2020

असार २२, काठमाडौँ । नेपालमा थप एक सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

नयाँ थप भएकासमेत हालसम्म संक्रमितको संख्या ९ हजार ९ सय ६४ पुगेको गौतमले बताए  । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार आठ सय ११ पुगेको छ । मन्त्रालयका अनुसार देशभरका २५ वटा प्रयोगशालामा साेमबार चार हजार सात सय जनाको नमुना परीक्षण गरिएको थियो । त्यसैगरी आइसोलेसनमा हाल नौ हजार एक सय १८ र क्वारेन्टाइनमा २९ हजार दुई सय १५ जना रहेको गौतमले बताए । 

काठमाडौं उपत्यकामा समुदायस्तरमा कोडिभ १९ को संक्रमण फैलिएको छ वा छैन भनि विभिन्न ठाउँबाट स्वाब लिई परीक्षण गर्ने क्रममा तीनकुने र नख्खु टोलका दुई सय २८ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको गौतमले जानकारी दिए । उनले १० ठाउँमध्ये अन्य ठाउँको नुमना संकलन र परीक्षण नतिजा आउने क्रममा रहेको बताए ।  

मन्त्रालयका अनुसार सोमबार थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका तीन जिल्लाका ५४ जना रहेका छन् । काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् । संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!