कसरी बढे काठमाडौँमा सङ्क्रमित ? कोरोना समुदायमा आउन सक्छ ?

Posted on: 07 Jul, 2020

असार २३, काठमाडौँ | सरकारले कोरोना भाइरस समुदायस्तरमा फैलने जोखिम अधिक रहे पनि हालसम्म समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिइनसकेको जनाएको छ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले छिट्फुट रुपमा देखिए पनि समुदायमा कोरोना नफैलिएको बताउनुहुन्छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित ‘प्रेस ब्रिफिङ’का क्रममा  उहाँले भन्नुभयो, “यदि समुदायमा कोरोना फैलिएको भए महिला र पुरुषमा समान रुपमा देखिनुपथ्र्यो । त्यो भएको छैन । तीन प्रतिशत सङ्क्रमित बाहिरबाट नआएका व्यक्तिमा देखिएको भए पनि क्वारेन्टिनमा बसेको व्यक्तिसँग कुनै न कुनै प्रकारको ‘लिङ्क’ भएको पाइएको छ ।” उहाँले भन्नुभयो, “कोरोना भाइरस समुदायमा आउन सक्छ, योसँगसँगै जानुपर्ने हुन सक्छ, तर अहिलेसम्म समुदायसम्म कोरोना भाइरस पुगिसकेको होइन ।”

समुदायस्तरमा कोरोना फैलिएको छ/छैन भन्नेमा धेरै प्रश्न उठ्ने गरेको भन्दै उहाँले अधिकांश सङ्क्रमित विदेशबाट आएको व्यक्ति भएको बताउनुभयो । “अहिलेसम्म ८७ प्रतिशत सङ्क्रमित पुरुष छन् । उहाँहरु पनि १५ देखि ५४ वर्ष सम्मका हुनुहुन्छ । उहाँहरु श्रम गर्न अन्य देश जानुभएको थियो । विदेशमा श्रम गर्न जाँदा उहाँहरुमा कोरोना सङ्क्रमण भएको हो”, निर्देशक पाण्डेले भन्नुभयो । 

काठमाडौँ उपत्यकामा २६७ जनामा कोरोना पुष्टि भएको जानकारी दिँदै उहाँले सङ्क्रमितको स्रोत पत्ता लगाउने गरी खोजपड्ताल भइरहेको बताउनुभयो । “सङ्क्रमितले आफ्नो ठेगाना काठमाडौँ राखेको महाशाखाको रेकर्डमा छ । त्यसमध्ये १७५ काठमाडौँका, ४१ ललितपुर र ४३ जना भक्तपुरका हुनुहुन्छ, यीमध्ये ७९ जना विदेशबाट उद्धार गरी ल्याइएको हुनुहुन्छ”, उहाँले भन्नुभयो । 

कसरी बढे काठमाडौँमा सङ्क्रमित ? 

विदेशबाट आउने, लुकिछिपी उपत्यका प्रवेश गर्ने र उपचारका लागि अस्पतालमा आउने व्यक्तिबाट उपत्यकामा सङ्क्रमण बढेको उहाँले बताउनुभयो । विदेशमा अलपत्र परेको नागरिकको उद्धार गरिँदा उपत्यकामा केही सङ्क्रमण बढ्न गएको महाशाखाको ठम्याइ छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सम्बन्धित मुलुकले पिसिआर परीक्षण गरेर नपठाउँदा विदेशबाट आउनेमा सङ्क्रमण देखिएको उहाँको भनाइ छ । विदेशबाट उद्धार गरी ल्याइएका करीब १७ हजार व्यक्तिमध्ये ३५ प्रतिशतले पिसिआर, ३५ प्रतिशतले आरडिटी विधिबाट परीक्षण गरेको र बाँकीले कुनै पनि परीक्षण नगरेको पाइएको उहाँले जानकारी दिनुभयो । कोरोनाको लक्षण देखिएको व्यक्ति पनि आएको उहाँको भनाइ छ । 

केही व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको हेल्थ डेस्कबाट सिधैँ अस्पताल पठाइएको निर्देशक पाण्डेले बताउनुभयो । खाडीका साउदी अरेबिया, कुवेत, माल्दिभ्सलगायत मुलुकबाट सङ्क्रमित आएको अवस्था छ । आयातीत सङ्क्रमितबाट उपत्यकामा जोखिम बढेको छ/छैन भनेर अध्ययन गर्न विभिन्न १२ स्थानमा नमूना परीक्षण गरिएको उहाँले बताउनुभयो । तीमध्ये नख्खुटोल र तीनकुनेमा २२८ जनाको नमूना परीक्षण गर्दा कसैलाई पनि कोरोना पोजेटिभ नदेखिएको उहाँले जानकारी दिनुभयो । “अन्य नौ ठाउँको पनि नमूना सङ्कलन भइरहेको, एक÷दुई दिनमा नतिजा आउँछ, त्यसपछि काठमाडौँको के अवस्था छ भन्ने प्रस्ट हुन्छ”, उहाँले भन्नुभयो । महाशाखाका निर्देशक पाण्डेले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर हेलचेक्र्याइँ नगर्न अपिल गर्नुभयो । 

‘लक्षणविहीन कोरोना सङ्क्रमित’

नेपालमा कोरोना सङ्क्रमण भएकामध्ये ९९ प्रतिशत कोरोना सङ्क्रमितमा कुनै पनि लक्षण नदेखिएको पाइएको छ । महाशाखाका निर्देशक पाण्डेले सङ्क्रमित देखिएका झण्डै १६ हजारमध्ये केहीलाई मात्र सामान्य लक्षण देखिएको बताउनुभयो । “अन्य देशको भन्दा फरक के रहेको छ भने नेपालमा ९९ प्रतिशतमा कुनै पनि लक्षण देखिएको छैन”, उहाँले भन्नुभयो, “उहाँहरु सङ्क्रमित हुनुहुन्छ, तर उहाँको लक्षण केही छैन ।” 

नेपालमा देखिएको कोरोना सङ्क्रमणमध्ये करीब ९७ प्रतिशत आयातीत रहेको छ । अरू देशबाट आएका छन् । तीमध्ये आजसम्म आरटी पिसिआर विधिबाट परीक्षण गरिएको दुई लाख ६१ हजारमध्ये सबैभन्दा धेरै प्रदेश नं २ र ५ मा हो भने अहिले सुदूरपश्चिम प्रदेश बढी जोखिममा रहेको देखिन्छ । “अहिलेसम्म हाम्रो स्थिति हेर्दाखेरि वाग्मती र गण्डकी प्रदेशमा छिट्पुट सङ्ख्यामा छ”, उहाँले भन्नुभयो, “अन्य प्रदेशमा ‘क्लष्टर अफ केसेस’ देखिएको छ ।” रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!