वर्षाका कारण सीमास्तम्भ ढल्यो

Posted on: 09 Jul, 2020

असार २५, कंचनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित नेपाल–भारत सीमास्तम्भ नं २०७ ढलेको अवस्थमा फेला परेको छ । “सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ”, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले भन्नुभयो, “जीर्ण अवस्थमा रहेको सीमास्तम्भको मर्मतसम्भारकार्य नहुँदा ढलेको छ ।”

बेलौरी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सीमास्तम्भ ढलेको अवस्थमा फेला परेकोबारे जानकारी गराइएको उहाँले बताउनुभयो । सीमास्तम्भ मर्मतको कार्य हुँदै गर्दा कारोना भाइरसका कारण बन्दाबन्दी भएपछि रोकिएको थियो । सीमास्तम्भ मर्मतकार्यका लागि जोर भारतले विजोर नेपालले मर्मत गर्दै आएका थिए । 

नहरमा डुबेर बालिका बेपत्ता 

कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनार बुधबार साँझ नहरमा डुबेर बेपत्ता भएकी छन् । नहरमा पौडी खेल्ने क्रममा नेहा डुबेर बेपत्ता भएकी हुन् । नहरमा पानीको बहाव उच्च हुँदा पौडिने क्रममै डुबेको स्थानीय बासिन्दाले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बालिका नहरमा डुबेको जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली खोजबिनका लागि खटाइएको बताउनुभयो । नहरमा पानीको बहाव उच्च भएकाले खोजबिनका लागि गाह्रो भएको उहाँले बताउनुभयो । खोजीकार्य जारी रहे पनि बालिका अहिलेसम्म फेला पर्न सकेकी छैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!