स्वाब सङ्कलन सुस्त, सङ्क्रमण घट्दै

Posted on: 12 Jul, 2020

असार २८, धनगढी । कोभिड–१९ को जाँचको दायरा बढाउनुपर्ने माग उठिरहेको समयमा सुदूरपश्चिम प्रदेशमा दैनिक स्वाबको नमूना सङ्कलन सुस्त भएको छ । आरडिटी पोजेटिभ देखिएका, लक्षण देखिएका शङ्कास्पद व्यक्ति र कन्ट्याक्ट ट्रेसिङका क्रममा सङ्क्रमितको सम्पर्कमा आएकाको मात्र नमूना सङ्कलन गर्नुपर्ने पछिल्लो पटकको मापदण्ड पालना गर्नुपर्ने भएकाले स्वाबको नमूना सङ्कलनमा  कमी आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताउनुभयो ।  

मन्त्रालयको तथ्याङ्कका अनुसार, पछिल्लो दुई दिनमा जम्मा ६०१ जनाको मात्र नमूना सङ्कलन हुन सकेको छ । दुई हप्ता अघिसम्म दैनिक पाँच सयदेखि छ सयसम्म शङ्कास्पद व्यक्तिको स्वाबको नमूना सङ्कलन हुने गरेको थियो । पर्याप्त नमूना सङ्कलन नभइरहेको र यसअघि परीक्षणका लागि सङ्कलित नमूनाको चाप पनि घट्दै गएको छ । शनिबारसम्म जाँच गर्नुपर्ने नमूना ९११ मात्र बाँकी छन् । 

गत जेठ महिनामा उकालो लागेको सङ्क्रमण दर पछिल्ला दिनमा घट्दै गएको छ । शनिबार कञ्चनपुरका तीन जनामा मात्र कोरोना सङ्क्रमित भएको पुष्टि भएको छ । यससँगै प्रदेशमा कूल सङ्क्रमित तीन हजार ७५८ पुगेका छन् । यसबाहेक सुर्खेतस्थित प्रयोगशालामा गरिएको नमूना परीक्षणमा सुदूरपश्चिम प्रदेशका १० जनामा कोरोना पोजेटिभ देखिएको थियो । 

जिल्लागत रुपमा हालसम्म कैलाली ९९४, अछाम ५९२, बैतडी २९८, बझाङ १५९, बाजुरा ४४६, डडेलधुरा २६९, दार्चुला १९, डोटी ५३५ र कञ्चनपुरमा ४४६ जना सङ्क्रमित पुगेका छन् । ९९४ सङ्क्रमित पुगेको कैलाली जिल्ला देशभरमै सम्भवतः सबैभन्दा बढी कोरोना सङ्क्रमित जिल्लाका रुपमा देखिएको छ ।    

क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले भारतबाट आउनेहरुको सङ्ख्या र क्वारेन्टिनमा बसेकाहरुको सङ्ख्या घट्दै गएको जस्ता कारणले सङ्क्रमण दर  घटेको बताउनुभयो । उहाँले भन्नुभयो, “सीमामा आइपुग्नेहरु को कहाँ गइरहेका छन् भन्ने यकिन जानकारी थाहा नहुँदा पछिल्ला दिनमा स्वाब सङ्कलनमा पनि कमी आएको छ ।” 

आगामी चारपाँच दिन भित्रमा प्रदेशका सबै क्वारेन्टिनमा बसेका शङ्कास्पदको स्वाबको नमूना सङ्कलन गर्ने गरी तयारी गरिएको डा अवस्थीले जानकारी दिनुभयो । सीमा नाकाबाट आउनेहरुको उचित व्यवस्थापन नभई पछिल्ला दिनमा आफू खुशी ढङ्गले गन्तव्यमा जाने गरेको देखिएकाले सङ्क्रमण अब समुदायमा देखिने जोखिम रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रदेशमा शनिबारसम्म कोरोना भाइरसका कारण आठ जनाको मृत्यु भएको छ । प्रदेशमा पहिलोपटक गत चैत १४ गते पहिलो कोरोना सङ्क्रमित भेटिएका थिए । गत वैशाख महिना शुरु हुँदासम्म पाँचजना सङ्क्रमित फेला परेकामा यसपछिको झण्डै एक महिनासम्म नयाँ सङ्क्रमणको दर स्थिर देखिएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!