निगमका १६ गन्तव्यमा चार्टर्ड उडान : १० हजार बढीको उद्धार

Posted on: 12 Jul, 2020

असार २८, काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बन्दाबन्दीको अवधिमा १६ गन्तव्यमा चार्टर्ड उडान गरेको छ । निगमले विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि जुन १४ देखि जुलाई १२ सम्म विभिन्न गन्तव्यमा ५८ उडान गरेको हो ।

यो अवधिमा निगमले दुबई, दोहा, क्वाललम्पुर, सिड्नी, ब्रिसबेन, नारिता, बैंकक, हङ्कङ, बहराइन, कुबेत, रियाद, जेद्दा, माले, ढाकालगायतका गन्तव्यमा उडान गरेको विज्ञप्तिमार्फत जनाएको छ । कूल ५८ उद्धार उडानमार्फत हालसम्म १० हजार ९१२ यात्रुको उद्धार गरी स्वदेश फिर्ता गरेको निगमले जनाएको छ ।

कोभिड–१९ सिर्जित विश्वव्यापी सङ्कटसित जुध्न चीनको ग्वाङझाओ, चाङ्सा, कुनमिङ र बेइजिङबाट कार्गो चार्टर्ड उडानमार्फत स्वास्थ्य सामग्री ढुवानी गरेको निगमले जनाएको छ ।

आगामी दिनमा पनि निगमले आफ्नो सामाजिक जिम्मेवारी पूरा गर्दै थप चुस्तताका साथ नियमित व्यावसायिक उडान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!