सिरानचोक गाउँपालिकाको केन्द्र 'चित्रेपोखरी' तोकियो

Posted on: 15 Jul, 2020

असार ३१, गोरखा। सिरानचोक गाउँपालिकाको केन्द्र चित्रेपोखरी हुने भएको छ । बुधबार सम्पन्न भएको सिरानचोक गाउँपालिकाको छैठौँ गाउँसभाले चित्रेपोखरीलाई गाउँपालिकाको केन्द्र निर्धारण गरेको हो ।

गाउँसभाका दुईतिहाइ भन्दा धेरै सदस्यले चित्रेपोखरीको पक्षमा समर्थन जनाएपछि गाउँपालिकाको केन्द्र निर्धारण भएको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले साझा सवाललाई जानकारी दिए । । गाउँसभाका ४३ सदस्यमध्ये ३७ जनाले चित्रेपोखरीको पक्षमा मत जाहेर गरेका गुरुङले बताए । पाँच जना सदस्य उपस्थित रहेपनि मतदानमा सहभागी नभएको उनले बताए ।

गाउँपालिका केन्द्रका लागि स्थानीय जनताले ७० रोपनी जग्गा गाउँपालिकालाई दिने गरि कबुलियतनामा बुझाइसकेका अध्यक्ष गुरुङले जानकारी दिए ।

चित्रेपोखरीलाई केन्द्र बनाउनु पर्छ भन्नेमा नेकपाबाट विजयी गाउँसभाका सदस्यहरु बिमला गुरुङ र गंगा सुनारले प्रस्ताब गरेका थिए । सो प्रस्ताबमा गाउँपालिकाकी उपप्रमुख उपाध्यक्ष रीता देवकोटा, संसदीय दलका नेता जयकृष्ण ढकाल, वडा नं. ३ का अध्यक्ष वीरबहादुर थापा, वडा नं. २ का अध्यक्ष ज्ञानेन्द्र गुरुङ, वडा नं. ६ का अध्यक्ष नारायण दानीले समर्थन जनाएका थिए ।

 यसअघि सिरानचोक गाउँपालिकाको अस्थायी केन्द्र छोप्राक मैदानमा रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!