नेपाली भाषाका डेढ लाख शब्द समेटेर शब्दकोष

Posted on: 15 Jul, 2020

असार ३१, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली बृहत् शब्दकोष’ प्रकाशनको तयारीमा जुटेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली बृहत् शब्द कोषले नसमेटिएका शब्द समेटेर उक्त शब्दकोष प्रकाशनको तयारी गरिरहेको जानकारी दिनुभयो । 

उहाँका अनुसार उक्त शब्दकोषमा एक लाख ५० हजार नेपाली भाषाका शब्द रहने छ । अहिलेसम्म एक लाख २५ हजार शब्द सङ्कलन भइसकेको छ । ‘‘पहिलेको शब्दकोषमा छुटेका शब्दलाई समेटी हामीले नयाँ शब्दकोष प्रकाशनको तयारी गरेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘उक्त शब्दकोषमा नेपाली मातृभाषाका शब्द रहनुका साथै प्रचलनमा आएका शब्द रहनेछन् ।’’

उक्त शब्दकोषमा कोरोना भाइरस (कोभिड–१९)सँग सम्बन्धित करिब १५ वटा शब्दसमेत रहेका छन् । सो शब्दकोष यही वर्ष प्रकाशन गर्ने प्रतिष्ठानको तयारी छ । शब्द कोषलाई मोबाइल एपमा समेत राखिने उहाँले बताउनुभयो । 

यसैगरी प्रतिष्ठानले प्रज्ञा शैक्षणिक व्याकरणको प्रकाशनको समेत तयारी गरेको छ । सबै तहका विद्यार्थीलाई उपयोगी हुने खालको व्याकरण तयारी गरिएको प्रतिष्ठानका कुलपति उप्रेतीले जानकारी दिनुभयो । 

यसैगरी ‘नेपाली बृहत् शब्दकोष’ लाई युगानुकूल प्रविधिमुखी बनाउन लागि ‘मोबाइल एप’ राखिएको छ । चौसाठी हजार शब्द रहेको उक्त एप एक पटक इन्टरनेटबाट डाउनलोड गरिसकेपछि इन्टरनेट नभएको अवस्थामा पनि सजिलै मोबाइलबाट हेर्न सकिनेछ । 

प्रतिष्ठानले २०४० सालमा प्रकाशन गरेको उक्त बृहत् शब्द कोषको विभिन्न समयमा परिमार्जन गरी अहिले मोबाइल एपमा पनि उपलब्ध गराएको हो । हिजो मङ्गलबार प्रधानमन्त्री केपी शर्माओलीले उक्त मोबाइल एपको सार्वजनिक गर्नुभएको हो । 

प्रतिष्ठानका कुलपति उप्रेतीले अहिले सूचनाको प्रविधिको युग र विदेशमा बस्ने नेपालीको अनुरोधमा उक्त एप बनाइएको बताउनुभयो । यस्तै प्रतिष्ठानले ‘नेपाली दर्शन’ ग्रन्थको प्रकाशनको तयारीसमेत गरेको छ । नेपाली भूमिमा उत्पत्ति भएका सम्पूर्ण दर्शनलाई समेटी उक्त दर्शन प्रकाशन गर्न थालिएको प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले जानकारी दिनुभयो । 

यसैगरी प्रतिष्ठानले नेपालमा सातवटै प्रदेशबाट नेपाली कविताको प्रादेशिक इतिहास लेखाउने कार्यसमेत प्रारम्भ गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!