फुल्पिङकट्टी पहिरोबाट बेपत्ताको खोजी

Posted on: 21 Jul, 2020

साउन ६, चौतारा | लगातारको वर्षाले सिन्धुपाल्चोकको विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी विस्थापित तथा मृतकका आफन्तलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट राहत सामग्री वितरण गरिएको छ । 

बाढी र पहिरोबाट बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका मृतकका आफन्तलाई जनही रु एक लाख र क्षति भएका घरपरिवारलाई रु १० हजारसहित त्रिपाल, कम्बल, भाँडाकुँडा, लत्ताकपडालगायतका राहत सामग्री वितरण गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

असार २४ गतेदेखि साउन १ गतेसम्म बाढी र पहिरोमा परेर ती दुई गाउँपालिकाका मात्र छ जनाको मृत्यु भइसकेको थियो भने २२ बेपत्ता भएका थिए । बेपत्ताको खोजीकार्य जारी रहे पनि अझैसम्म शव भेटिएको छैन । त्यस्तै मेलम्ची खानेपानीको सुरुङमा पानी हाल्ने क्रममा ढोका फुटेर एक जनाको मृत्यु र दुई घाइते भएका थिए ।

भोटेकोशी नदीले कटान गरेको बाह्रबिसेस्थित खुर्सानीबारीको करिब २०० मिटर सडकको ट्र्याक खुलाइएको छ । ट्र्याक खुलेपछि खागदलसम्म साना गाडी पुग्न सक्ने इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताउनुभयो । उक्त बाटोलाई भोटेकोशी नदीले पूरै कटान गरेको थियो । अहिले नदीले धार परिवर्तन गरेको र पानीको सतहसमेत घटेको हुँदा तलबाटै ट्र्याक खुलाइएको हो । नदीमा पुनः बाढी नआएमा खागदलसम्मको आवागमनमा सहज भएपछि सिरिसेसम्मको क्षतिग्रस्त सडकलाई पनि खुलाउन शुरु गरिने बताइएको छ ।

यही साउन १ गते फुल्पिङकट्टी–४ मा पहिरोमा परी एकै परिवारका पाँचमध्ये तीन जनाको शव फेला परे पनि बेपत्ता दुई अझै भेटिएका छैनन् । खोजीकार्य जारी रहे पनि लगातारको वर्षा र पहिरो झर्ने क्रम नरोकिएपछि समस्या उत्पन्न भएको छ । त्यहाँ नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले खोजी गरेको र मानवशक्तिबाट सम्भव नभएपछि दुई दिनदेखि स्काभेटर प्रयोग गरिएको थियो । पुरानो स्काभेटर भएको र लेदो माटो झरिनैरहेको हुँदा त्यसलाई फर्काई पुनः अर्को स्काभेटर ल्याई काम शुरु गरिने वडा नं ४ का वडाध्यक्ष सानदोर्जे शेर्पाले बताउनुभयो ।

 स्थानीय ठाडो खोलाको बाढीले झोलुङ्गे पुलसमेत बगाएपछि आवतजावतमा समेत समस्या उत्पन्न भएको छ । पहिरोले दुई घर र एक विद्यालय पुरेको र अन्य २४ घर उच्च जोखिममा परेका छन् । विस्थापित ११७ मध्ये ४५ परिवार स्थानीय डाँडागाउँ स्वास्थ्यचौकीमा राखिएको र अन्य परिवार आफन्तमा गएको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!