लामो दूरीका यातायात भदौ १ देखि खुल्ने

Posted on: 21 Jul, 2020

साउन ६, काठमाडौँ (रासस) | कोभिड १९ को संक्रमण  रोक्न चैत ११ देखि लागू गरेको बन्दाबन्दीलाई झण्डै चार महिनापछि आज रातिदेखि लागू हुने गरी विधिवत् रुपमा अन्त्य गरेसँगै सरकारले अधिकांश सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।

आर्थिक गतिविधिलाई सहजीकरण गर्दै यसअघि केही सेवा सञ्चालन गरिएकामा सोमबारको निर्णयले अन्य थप सेवा सञ्चालन हुने भएको छ । जोखिम कायम रहेका केही सीमित गतिविधिमा रोक लगाउने यसअघिको निर्णय भने कायम राखेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान र लामो दूरीको यातायात सेवासमेत भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्डबमोजिम हुने गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडान भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ । 

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्डअनुसार हुने गरी छोटो, मध्यम तथा लामो दूरीमा जिल्लाभित्र र अन्तर जिल्लामा सञ्चालन हुने गरी निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसमेत भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो ।

सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री डा खतिवडाले अन्तर्राष्ट्रिय खेलकूदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेलसमेत भदौ १ देखि नै सञ्चालन गर्न सकिनेछ ।  

सामूहिक भोज पार्टी, सेमिनार, वा अन्य सामूहिक भेलाबाहेक होटल, रेष्टुरेन्ट तथा ट्रेकिङ, ट्राभल र पर्वतारोहणका गतिविधि पनि साउन १५ देखि  सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!