दमौली–डुम्रे सडकखण्डमा सवारी प्रवेशमा रोक

Posted on: 25 Jul, 2020

साउन १०, तनहुँ | पृथ्वीराजमार्गअन्तर्गत दमौली डुम्रे सडक खण्डमा शनिबार सबै सवारी प्रवेशमा रोक लगाइएको छ । शुक्रबार र शनिबार ठूला सवारीबाहेक साना सवारीलाई प्रवेशमा अनुमति दिने जिल्ला प्रशासनको निर्णय भए पनि पुनः समस्या आएकाले सबै सवारी प्रवेशमा रोक लगाइएको हो । वैकल्पिक मार्गमा शुक्रबार ग्राबेल राखी सवारी सञ्चालनमा ल्याएको भए पनि ग्राबेल कम प्रयोग गरेका कारण समस्या आएकाले सबै सवारीलाई आज एक दिन रोक्नुपरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । 

वैकल्पिक मार्गमा साना सवारी साधनको चापले पनि समस्या आयो । उहाँले भन्नुभयो, “त्यस सडकलाई आज दिनभरमा मजबुत बनाएर मात्रै भोलिदेखि सवारी सञ्चालनमा ल्याइने छ ।” उहाँका अनुसार एम्बुलेन्सलगायतका अत्यावश्याक सवारीलाई भने आवतजावतको लागि व्यवस्था मिलाइएको छ । 

अविरल वर्षापछि बन्दीपुर गाउँपालिका–१ स्थित नाहालामा सडक नै भाँसिएर पहिरो गएपछि वैकल्पिक मार्ग निर्माण गरिएको हो । उक्त मार्गमा ग्राबेल नगरिँदा सवारी फसेर अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले ठूला सवारीलाई दुई दिन प्रवेशमा रोक लगाएको थियो । 

यही साउन ४ र ५ गते पनि उक्त राजमार्गको ठाउँठाउँमा पहिरो गएर अवरुद्ध भएपछि पाँच वटा डोजर, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको प्रयासले एक दिनमै राजमार्ग सञ्चालनमा ल्याइएको थियो । पहिरोले राजमार्गको सडक नै बगाएपछि वैकल्पिक मार्ग बनाइएको थियो । उक्त वैकल्पिक मार्गमा राम्रोसँग ग्राभेल नगरेका कारण हिलो हुँदा सवारी साधन फसेपछि राजमार्ग पुनः अवरुद्ध हुने देखिएकाले सवारी प्रवेशमा रोक लगाइएको बन्दीपुर–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिनुभयो । 

तनहुँमा बिहीबार साँझदेखि शनिबारसम्म पानी परे पनि पृथ्वीराजमार्गको अन्य क्षेत्रमा अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!