कोरोना सङ्क्रमणबाट विदेशमा थप एक नेपालीको निधन

Posted on: 26 Jul, 2020

साउन ११, काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ ।  गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस हप्ता संयुक्त अधिराज्यमा एक जनाको निधन भएको हो । 

यससँगै शनिबार साँझसम्म विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या १६१ पुगेको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिनुभयो । समितिका अनुसार  ३६ मुलुकमा रहेका कूल ३१ हजार १५० सङ्क्रमित नेपालीमध्ये २९ हजार २४३ जना अर्थात् ९३ प्रतिशतभन्दा बढी कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये अधिकांश सङ्क्रमणमुक्त भए पनि यस साता त्यहाँ सङ्क्रमणदर केही बढेको सङ्घले जनाएको छ । यसैगरी संयुक्त अरब  इमिरेट्स, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यस साता सङ्क्रमण बढेको छ ।  

समितिले सार्वजनिकस्थलमा जाँदा र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शनसमेत तयार पारेको छ । समितिले सार्वजनिकस्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ ।रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!