विश्व बाघ दिवस : नेपालको बाघ संरक्षणमा आशलाग्दो उपलब्धि

Posted on: 29 Jul, 2020

भीष्मराज ओझा । साउन १४, काठमाडौँ । यस वर्षको विश्व बाघ दिवस कोभिड–१९ सङ्क्रमणका कारण नेपालमा आज सामान्यरुपमा मनाइँदै छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिवसका अवसरमा सरोकारवाला सीमित व्यक्तिको सहभागितामा केन्द्रीय कार्यक्रम बबरमहलमा आयोजना गरेको छ । यसबाहेक बाघ पाइने चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि स्थानीयस्तरको कार्यक्रम गर्न लागेको विभागले जनाएको छ । 

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरुप आज नेपालमा पनि यो दिवस मनाउन लागिएको हो । नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै आएको छ । नेपाललगायत विश्वका १३ देशमा पाटेबाघ पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सेन्टपिटर्सवर्ग सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । 

सो प्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणना अनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई दोब्बरभन्दा पनि बढी २५० वयस्क बाघ पुर्याउने प्रतिबद्धता गरेको थियो । जुन लक्ष्य हासिल हुने दिशामा नजिक रहेको विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

मन्त्रालयले गत वर्ष पछिल्लो राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको थियो । उक्त गणनाअनुुसार नेपालमा बाघको सङ्ख्या २३५ पुगेको छ । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए । यस गणनाका क्रममा क्यामेरामा देखिएका बाघका बच्चाको सङ्ख्या नसमेटिएकाले सन् २०२२ मा नेपालको लक्ष्य पूरा हुने निश्चित देखिएको उहाँले दाबी गर्नुभयो । 

विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म पछिल्लो बाघगणना गरेको थियो । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको विभागको तथ्याङ्क छ । नेपालमा बाघ संरक्षणमा देखिएको सफलता र यसको सङ्ख्यामा भएको वृद्धिलाई विश्व समुदाय नै प्रशंसा गरेको छ । 

नेपालको तराई–भूपरिधि क्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार १६१ वर्गकिमि क्षेत्रमध्ये ११ हजार ५७ वर्ग किमि (६८ प्रतिशत) मा बाघको उपस्थिति रहेको देखिएको छ । बाघ पाइने संरक्षित क्षेत्रमध्ये ९८ प्रतिशत क्षेत्रमा बाघको उपस्थिति रहेको देखिएको छ । संरक्षित क्षेत्रभन्दा बाहिरको बाघ पाइने क्षेत्रमध्ये ६० प्रतिशत क्षेत्रमा मात्र सो प्रजातिको उपस्थिति रहेको तथ्याङ्कमा उल्लेख छ । 

मुलुकले जैविक विविधता संरक्षणका क्षेत्रमा आशलाग्दो उपलब्धि हासिल भएकाले र बाघ गणनाको पछिल्लो नतिजाले पनि सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर (२५० वयस्क बाघ) पुर्याउने मुलुकको प्रतिबद्धता पूरा हुने विश्वास गरिएको छ तर बाघको चोरी शिकारी, बढ्दो मानव वन्यजन्तु द्वन्द्व, वन अतिक्रमणसँगै बासस्थान र आहारामा देखिएका कमीले बाघ संरक्षणमा चुनौती पनि कायमै छ । 

 विश्वभर बाघको सङ्ख्या तीन हजार ८९० रहेको छ । सन् २०१६ को तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतमा दुई हजार २२६, सबैभन्दा कम लाओसमा बाघको सङ्ख्या दुई छ । इण्डोनेसिया, कम्बोडिया, चीन, थाइल्याण्ड, नेपाल, बङ्गलादेश, भारत, भुटान, भियतनाम, मलेसिया, म्यान्मा, रसिया र लाओसमा पाटेबाघ पाइन्छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!