सिन्धुपाल्चोकको फुल्पिङकट्टी पहिरोमा मर्नेको सङ्ख्या पाँच पुग्यो

Posted on: 29 Jul, 2020

साउन १४, चौतारा। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । साउन १ गतेराति पहिरोले घर पुरेर बेपत्ता भएका दुई जनामध्ये ८४ वर्षीया सोमबुटी शेर्पा र उनकी ४८ वर्षीया छोरी सेमसाङ शेर्पाको १४ दिनपछि आज शव फेला परेपछि मृतकको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । 

माथिबाट आएको पहिरोले स्थानीय ग्याल्जेन शेर्पाको घर बगाएपछि उनकी आमा, श्रीमती, बहिनी र दुई छोरीसहित पाँच जना पुरेको थियो । घरमुली शेर्पा भने राजधानीमा बस्दै आएकाले पहिरोबाट जोगिएका थिए । दैनिक पानी परिरहेकाले माथिबाट लगातार लेदो माटो झर्ने क्रम जारी रहेकाले शव निकाल्न लामो समय लागेको वडाध्यक्ष सानदोर्जे शेर्पाले बताउनुभयो । पहिरोबाट एक विद्यालयसहित तीन घर पुर्नुका साथै २४ घर उच्च जोखिममा परेका छन् । विस्थापित १६२ जनालाई विभिन्न सुरक्षित स्थानमा राखिएको वडाध्यक्ष शेर्पाले बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!