रुकुम घटनाका पीडितलाई रु पाँच लाख सहयोग

Posted on: 29 Jul, 2020

साउन १४, काठमाडौँ । रुकुमपश्चिमको सोती घटनाका मृतकको परिवारलाई कलाकारहरुले रु पाँच लाख आर्थिक सहयोग गरेका छन् । यहाँ आज अयोजित पत्रकार सम्मेलनमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले जाजरकोटको भेरी नगरपालिकाका –प्रमुख सिपी घर्तीलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभयो ।

यही जेठ १० गते भएको घटनामा सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीको कुटपिटमा परी मृत्यु भएको थियो । मृतक नवराजको शव भेरी नदीमा भटिएको थियो । नवराजसँगै केटीको घरमा गएका  अन्य पाँच जनाको पनि मृत्यु भएको थियो ।

सहयोग रकम मृतकका प्रत्येक परिवारलाई रु पचास हजारका दरले तीन लाख, प्रत्येक घाइतेलाई दश हजारको दरले १२ जनालाई एक लाख २० हजार र कानूनी प्रक्रियाका लागि ८० हजार गरी जम्मा पाँच लाख रकम नगरपालिकाका प्रमुख घर्तीमार्फत पीडितलाई हस्तान्तरण गरिएको हो । सोही अवसरमा वरिष्ठ कलाकार श्रेष्ठले भन्नुभयो, “२१औँ शताब्दीमा आएर पनि १६औँं शताब्दीको जस्तो व्यवहार गरेकोमा दुःख लाग्यो, दलित शब्द नेपाली शब्दकोषबाट नहटाएसम्म मानिसको मनबाट जातीय विभेद र छुवाछुत हट्दैन ।” 

भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीले सोती घटना अन्तिम हुनुपर्ने र अब यस्तो घटना हुन नहुने बउनुभयो । गायक तथा राष्ट्रिय कलाकार समूहका अध्यक्ष गायक यश कुमारले अमेरिका, अष्ट्रेलिया, युकेलगायत विभिन्न देशबाट रकम सङ्कलन गरिएको जानकारी दिनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!