प्रहरीसहित साउदीबाट फर्किएका पुरुषमा कोरोना सङ्क्रमण

Posted on: 01 Aug, 2020

साउन १७, काठमाडौँ | महानगरीय प्रहरी वृत्त सानोठिमीमा कार्यरत एक प्रहरी हबल्दारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा भएको पिसिआर परीक्षणमा ३३ वर्षीय प्रहरी हबल्दारमा कोरोना देखिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । सङ्क्रमित हबल्दारको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचार भइरहेको छ । 

त्यसैगरी साउदी अरबबाट गत २२ गते नेपाल फर्किएका मध्यपुरथिमि नगरपालिका–४ का एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । साउदीबाट फर्किएका २५ वर्षीय पुरुषलाई २६ दिनमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरीले जानकारी दिएको छ । 

नेपाल विद्युत् प्राधिकरण थिमि शाखासँगै रहेको सङ्क्रमितको घर तथा परिवारले सञ्चालन गरेका खाजा पसल बन्द गराएको छ । सङ्क्रमित पुरुषलाई पाटन अस्पतालमा उपचार भइरहेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!