शुरु भो जुम्लामा चिस्यान घर निर्माण

Posted on: 02 Aug, 2020

साउन १८, जुम्ला | जुम्लाको तिला गाउँपालिका–६, ७, ८, ९ नं वडा हालसम्म सडक सञ्जालमा जोडिएका छैनन् । स्थानीय तहले ती ठाउँमा ग्रामीण सडक निर्माण गरे पनि तिलानदीमा पक्की पुल निर्माण नहुँदा सडक सञ्जालमा नजोडिएको हो ।

 वडाध्यक्ष सन्तवीर रावतले भन्नुभयो, “अहिले पनि यहाँका नागरिक पिठ्युमै बोकेर दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्री ढुवानी गर्न बाध्य छन् । यस क्षेत्र आलु, मकै र सिमीलगायत कोशेबालीको उर्वरभूमि हो ।” 

 तिला–९ मानेचौरमा आलु भण्डारण गर्ने चिस्यान घर (रष्टिक स्टोर) निर्माण गर्न थालिको छ । मौसममा आलुको मूल्य नपाइने भएकाले बेमौसममा बिक्री वितरण गर्न चिस्यान घर निर्माणको थालनी गरिएको उहाँले बताउनुभयो ।करिव रु ३३ लाख लागतमा १० मेट्रिक टन क्षमताको चिस्यान घर दातृ संस्थाको लगानी र साझेदारीमा निर्माण थालनी गरिएको हो ।

साझेदारी सहयोग केन्द्र (पेस नेपाल) का अध्यक्ष किशोर न्यौपानेका अनुसार गाउँपालिका र स्थानीयवासीको मागका आधारमा चिस्यान घर निर्माणको काम भइरहेको छ । विशेषगरी यस क्षेत्र आलु र मकै उत्पादनको उर्वरभूमि हो । यहाँ उत्पादित वस्तुको बजारीकरणको समस्या भएकाले अनुकूलन कोष, वन तथा वातवरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको रु २२ लाख आर्थिक सहयोगमा १० मेट्रिक टन क्षमताको चिस्यान घर निर्माणको काम शुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आलु उत्पादन हुने सिजनमा सबै कृषकले एकैपटक बजारमा लैजाने भएकाले मूल्य राम्रो नपाइने र खेर जाने हुँदा भण्डारण गरेर बेमौसममा बिक्री वितरण गर्दा राम्रो मूल्यमा बिक्री गरेर लाभ लिउन् भन्ने उद्देश्यका साथ आलु भण्डारण चिस्यान घर निर्माण गर्न थालिएको हो ।” रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!