कपिलवस्तुका १६५ विपन्न घरपरिवारका लागि शौचालय निर्माण

Posted on: 03 Aug, 2020

साउन  १९, चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकाका १६५ विपन्न घरपरिवारका लागि शौचालय निर्माण गरिएको छ । राष्ट्रिय योजना आयोगको विशेष अनुदानअन्तर्गत वडा नं ६ का विभिन्न गाउँमा शौचालय निर्माण भएको छ । वडाको खडाँैचा गाउँमा ११, बदौरमा ४६, प्रेमनगरमा १२, छुटपाटीमा ३४, खजानीमा १७, डेहवामा ३१ वटा र विक्षीहवामा पाँच  घरपरिवारलाई शौचालय निर्माण गरिएको हो ।

रु ५० लाखमा निर्माण भएका शौचालय प्रयोग गर्न शुरु गरिएको छ । शौचालय निर्माण गर्न नसकेका विपन्नको पहिचान गरी शौचालय निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो । 

लामो समयदेखि कच्ची तथा अव्यवस्थित शौचालय प्रयोग गर्न बाध्य रहेका घरपरिवारलाई शौचालय निर्माण गरेर हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । “कतिपयमा वर्षात्को समस्याले रिङ राख्न सकिएको छैन”, थापाले भन्नुभयो, “पालिकाले लिएको पूर्ण सरसफाइ अभियानलाई सफल बनाउन यो कार्यले सहयोग गरेको छ ।” योजना आयोगसँग गाउँपालिकाका सबै वडाका विपन्न परिवारमा शौचालय नभएका घरमा निर्माणका लागि माग गरेको भए पनि १६५ परेको थापाले बताउनुभयो ।

शौचालय बनाउन वडास्तरीय उपभोक्ता समिति गठन गरिएको स्थानीयले नै निर्माण गरेको वडाध्यक्ष प्रेमबहादुर कलवारले बताउनुभयो । शौचालय निर्माणका क्रममा वडा समितिले पटकपटक अनुगमन गरेको उहाँले बताउनुभयो । अझै पनि विपन्न नागरिक शौचालयविहीन रहेकाले गाउँपालिका तथा केन्द्र सरकारसँग बजेट माग गरिएको कलवारले बताउनुभयो । 

विहान साँझको छाक टार्न समस्या परेका बेला शौचालय निर्माण गरिदिएको भन्दै स्थानीय सुभावती पालले धन्यवाद दिनुभयो । वडाका गरिब घरपरिवारले खुला चौरमा शौच गर्ने बाध्यता अब हटेको शौचालय निर्माण उपभोक्ता समितिका सचिव दिनेश तिमिल्सेनाले बताउनुभयो । प्रतिशौचालय रु ३३ हजार खर्च लागेको बताउँदै उहाँले शौचालय निर्माणमा स्थानीयको पूर्ण साथ रहेको बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!