लोकमार्ग मर्ममा टालटुले काम

Posted on: 04 Aug, 2020

साउन २०, सर्लाही । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर, रौतहटको चरम लापवाहीका कारण पूर्व–पश्चिम लोकमार्गमा सवारी दुर्घटनाको सम्भावना बढ्दै जान थालेको छ । पूर्व–पश्चिम लोकमार्गको सर्लाही क्षेत्रमा पर्ने सडक खण्ड भत्केर ठूलाठूला खाल्डा भएका कारण सवारी दुर्घटनाको सम्भावना बढेको हो ।

 वर्षायाम शुरु भएपछि टालटुलका काम शुरु हुने र पानी परेपछि सोही स्थानमा भत्किने गरेका कारण थप समस्या सिर्जना भएको हो । सडकमा धेरै जीर्ण भएकाले वर्षामा पानी जम्ने र हिउँदमा धुलाम्मे हुँदा स्थानीयवासी थप पीडित भएका छन् ।

व्यस्त सडकखण्डमा ठूलाठूला खाल्डा पर्दा पनि सडक डिभिजन कार्यालय चन्द्रनिगाहापुर, रौतहटका कार्यालय प्रमुख दरोगाप्रसाद साहको ध्यान जान नसकेको नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले बताउनुभयो ।

जिल्लाका पूर्व–पश्चिम लोकमार्गसँग जोडिएका स्थानीय निकायले सो सडकको अवस्थाको विषयमा सडक डिभिजन कार्यालयलाई पटकपटक जानकारी गराए पनि कुनै सुनुवाइ नभएको लालबन्दी नगरपालिकाका नगर उपप्रमुख शान्ति लामाले बताउनुभयो । पूरै सडक बनाउन सम्भव नरहेका कारण भत्किएका स्थानमा मात्र टाल्ने गरेको कार्यालयको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!