‘कर्णाली प्रवेश गर्नेको अनिवार्य पिसिआर रिर्पोट हेर्छौं’

Posted on: 04 Aug, 2020

साउन २०, कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रवेश गर्नेको पिसिआर रिर्पोट अनिवार्य गर्ने तयारी भएको बताउनुभएको छ । कैलाली र पूर्वी तराईमा कोरोना भाइरसको खतरनाक लक्षण देखिएको बताउँदै उहाँले कर्णालीमा थप सजगताका लागि अब प्रवेश गर्नेबाट पिसिआर रिर्पोट अनिवार्य माग्ने तयारी गरिने बताउनुभएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सङ्घीय सरकारले पुनः बन्दाबन्दी (लकडाउन) गरेमा मुख्य नाकामा यस्तो व्यवस्था गरिने बताउनुभयो । “अहिले खतरनाक भाइरस आएको छ, सायद देश नै लकडाउनमा जान्छ होला”, मुख्यमन्त्रीले भन्नुभयो, “यदि नेपालगञ्ज आसपासमा उक्त भाइरस देखिएको खण्डमा हामी आफँै कर्णालीलाई लकडाउन गर्छौं, कर्णाली प्रवेश गर्नेको अनिवार्य पिसिआर रिर्पोट हेर्छौं ।”

मुख्यमन्त्री शाहीले कर्णालीका १८ लाख नागरिकलाई प्रतिव्यक्ति दुई थान मास्क दिएर भए पनि अनिवार्य मास्क लगाउन अभिप्रेरित गर्नुपर्ने बताउनुभयो । “आफैँले किन्न नसक्ने नागरिकका लागि प्रदेश सरकारले प्रतिव्यक्ति दुई थान मास्क दिने सोचमा पुगेका छौँ, ती मास्क पुनः प्रयोग गर्न मिल्ने खालका हुनेछन्”, उहाँले भन्नुभयो, “यसका अलावा स–सानो स्यानेटाइजरको बोतल पनि वितरण गर्छौं ।”

मुख्यमन्त्री शाहीले कर्णालीका १० वटै जिल्लामा अक्सिजन पठाउने बताउनुभयो । कर्णालीमा १०० भेन्टिलेटर राख्ने, २०० आइसियु बेड राख्ने र हरेक पालिकामा कम्तीमा ५० बेडको आइसोलेसन सेन्टर निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताउनुभयो । पत्रकार भेटघाटमा सामाजिक विकासमन्त्री दल रावलले अबको केही दिनभित्रै दैनिक दुई हजार ५०० भन्दा बढीको पिसिआर परीक्षण गरिने बताउनुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल कालागाउँमा तीन वटा आरएनए एक्सटेन्सन मेशिन जडानको काम भइरहेको उहाँको भनाइ छ । हाल कर्णालीका चार स्थानबाट पिसिआर परीक्षण भइरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!