काठमाडौँ उपत्यकामा ६२ सहित २५९ जनामा कोरोना सङ्क्रमण

Posted on: 04 Aug, 2020

शर्मिला पाठक। साउन २०, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ९०० पुगेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरका प्रयोगशालामा सात हजार ६८७ पिसिआर नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको बताउनुभयो । हालसम्म  सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ९२५ रहेको छ । 

त्यसैगरी काठमाडौँ उपत्यकामा विभिन्न सात परीक्षण केन्द्रमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा ४८, ललितपुरमा एक तथा भक्तपुरमा १३ व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको हो । हालसम्मा चार लाख छ हजार ५९४ को परीक्षण गरिएको छ । 

सङ्क्रमितमध्ये १५ हजार २६ जना उपचार पछि निको भएर घर फर्केका छन् । आज थप एक जनाको कोरोनाको कारण मृत्यु भएको छ । मोरङ जिल्ला घर भएका ७७ वर्षका पुरुषको कोरोना सङ्क्रमणको कारण हिजो मृत्यु भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट ५८ जनाको मृत्यु भएको छ । 

सरकारले पछिल्लो समय काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा पनि परीक्षण गर्न थालेको छ । परीक्षणको क्रममा आज नागढुङ्गामा एक हजार ३०७ जनामा गरिएको परीक्षणमा १६, फर्पिङमा तीन हजार ४८२ जनामा गरिएको परीक्षणमा १३ र साँगामा छ हजार ६४ जनामा गरिएको  परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी गराएको छ । हाल दश हजार ४५२ जना क्वारेन्टिनमा रहेका छन् । विगत २४ घण्टामा ६५ जना निको भएर घर फर्केका छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!