कञ्चनपुरमा ‘सामुदायिक भान्सा’अभियान सञ्चालन

Posted on: 05 Aug, 2020

शेरबहादुर सिंह । साउन २१, महेन्द्रनगर । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने वर्ग र सुमदायलाई लक्षित गरी माइती नेपाल कञ्चनपुरले सामुदायिक भान्सा अभियान सञ्चालन गरिरहेको छ । लामो समयसम्मको बन्दाबन्दी र त्यसपछि केही खुला भएको अवस्थामा पनि दैनिक ज्यालादारी गरेर हातमुख जोर्न बाध्य वर्ग समुदायलाई सामुदायिक भान्सा अभियानले धेरै राहत पुगेको बताइएको छ । 

कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि सरकारले नेपाल–भारत सीमा ‘सिल’ गर्नुका साथै लकडाउन गरेपछि सीमा क्षेत्रमा मानव बेचबिखनका क्षेत्रमा निगरानी बढाउनुपर्ने अवस्था नरहेपछि माइती नेपालले कञ्चनपुर र बाँके जिल्लामा सामुदायिक भान्सा अभियान सञ्चालन गरी सुकुम्बासी, दलित, विपन्न र वादी समुदायमा पोषिलो खाना खुवाउने अभियान सञ्चालन गरिरहेको छ । 

पछिल्लो समय कोरोना सङ्क्रमण दर उच्च दरमा वृद्धि भइरहेको सन्दर्भमा दैनिक ज्यालादारीमा काम गर्न जानु पनि उत्तिकै जोखिमपूर्ण रहेको कलावती सार्की बताउनुहुन्छ । अर्काकोमा गएर काम गरेर ल्याएको पैसाले पेट पाल्नुपर्ने अवस्थामा रहेका आफूहरुलाई माइती नेपालले यसरी खाना खुवाउने गरेकोमा उहाँ निकै हर्षित हुनुहुन्छ । 

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जिल्लाको लालझाँडी, बेदकोट, भीमदत्त र महाकाली नगरपालिकामा यस अभियानमार्फत नौ हजार ५८५ लाई पोषिलो खाना खुवाएको जानकारी दिनुभयो । “हामीले दैनिक ज्याला मजदुरी गरी हातमुख जोर्न बाध्य अवस्थामा रहेका परिवारमा पनि महिला तथा बालबालिकालाई प्राथमिकतामा राखेका छौँ । एक छाक भए पनि उनीहरुलाई पोषिलो खुवाउने उद्देश्यले गत असार १६ गतेदेखि अभियान सञ्चालन गरेका हौँ ।” 

माइती नेपालकी संयोजक भट्टले भन्नुभयो, “कम्तिमा ५६ दिनसम्म जिल्लाभरि अभियान सञ्चालन गर्ने योजना छ । त्यसपछि पनि यसको आवश्यकता र प्रभावकारिता हेरेर थप्न सकिनेछ ।” उहाँले हालसम्म यहाँको लालझाडी गाउँपालिकाको ठक्का निकुञ्ज पीडित शिविरमा आठ दिनसम्म भान्सा सञ्चालन गरेर दैनिक २५० जनालाई खाना खुवाइएको बताउनुभयो ।

त्यसैगरी बेदकोट नगरपालिका–९ को निकुञ्ज पीडित शिविर र सुकुम्बासी शिविरमा पनि दुई दिन भान्सा सञ्चालन गरिरहेको थियो । त्यस्तै महाकाली नगरपालिकामा बादी बस्ती र ढकनीघाटमा गरी तीन दिनसम्म दैनिक २८० जनालाई खाना खुवाइएको माइती नेपालले जनाएको छ ।

“युएन ओमनको आर्थिक सहयोगमा बाँके र कञ्चनपुरमा अभियान सञ्चालन भएको छ”, भट्टले भन्नुभयो, “भान्सा सञ्चालनका क्रममा आफैँ दाल, भात, हरियो साग, अचार पानीलगायतको व्यवस्था गरेर भोजन गराउने गरेका छौँ ।” उहाँले बन्दाबन्दीमा सुकुम्बासी र विपन्न बस्तीमा रोगभन्दा भोकले मर्ने अवस्था आएको बताउनुभयो ।

“समुदायमै हप्तौँ बसेर खाना खुवाउने अभियानले लक्षित वर्गका नागरिक निकै खुशी भएका छन्” उहाँले भन्नु्भयो, “आखिर रोगसँगै लड्न पनि त पोसिलो आहार चाहिन्छ नै ।” माइती नेपालले वस्तुस्थिति हेरेर जिल्लाका अन्य शिविर र बस्तीमा समेत अभियान सञ्चालन गर्दै जाने बताएको छ । भीमदत्त नगरपालिकामा ३७ दिनदेखि यो अभियान जारी छ । भट्टले भन्नुभयो, “यहाँ वृद्धाश्रमदेखि सुकुम्बासी, दलित बस्तीसम्म पुगेर खाना खुवाउने काम भइरहेको छ ।” रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!