रुपन्देहीमा राष्ट्रिय परिचयपत्रको तथ्याङ्क सङ्कलन शुरु

Posted on: 06 Aug, 2020

साउन २२, लुम्बिनी । रुपन्देहीमा आजदेखि राष्ट्रिय परिचयपत्रका लागि तथ्याङ्क सङ्कलन शुरु गरिएको छ । तथ्याङ्क सङ्कलनका लागि नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिले आवश्यक विवरण भरेर आवेदन दिनसक्ने प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो । आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमार्फत सरकारले आगामी चार वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने घोषणा गरेको थियो । 

जनतालाई प्रदान गर्ने सेवासुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधानसहितको प्रणालीको विकास गर्ने, जैविक पहिचानसहितको बहुउपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने र नेपालमा बस्ने सबै व्यक्तिको विवरण राष्ट्रिय तथ्याङ्क भण्डारणमा समाविष्ट गर्ने राष्ट्रिय परिचयपत्रको उद्देश्य रहेको प्रजिअ पन्थले बताउनुभयो । आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय परिचयपत्रका लागि एक करोड तथ्याङ्क सङ्कलन गर्ने सरकारको लक्ष्य रहेको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!