हात्तीले उप्रदो मच्चाउँदा एकको मृत्यु

Posted on: 07 Aug, 2020

साउन २३, दमक । जङ्गली हात्तीको आक्रमणबाट झापाको कमल गाउँपालिकामा गए राति एक वृद्धको मृत्यु भएको छ । मृत्युहुनेमा  कमल गाउँपालिका वडा नं ५ स्थित टुक्रेका ५८ वर्षीय रोहित रेग्मी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भवनबाबु खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार गए राति करिब २ बजेतिर नजिकैको रतुवा माईवृक्षरोपण आयोजनाको जङ्गलबाट आएको दुई हात्तीले परिवारसहित बस्दै आएका रेग्मीको छाप्रामा आक्रमण गरेको थियो ।  छाप्रामा एक्कासी हात्तीले आक्रमण गरेपछि ज्यान बचाउन भागेका रेग्मीलाई हात्तीले लखेटेर मारेको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । रेग्मीका श्रीमती र एक नातिनी भने भागेर ज्यान जोगाउन सफल भएका थिए ।

सशस्त्र प्रहरीको जग्गामा छाप्रो बनाएर बसोबास गर्दै आउनुभएका रेग्मीलाई छाप्रोबाट केही पर हात्तीले कुल्चिएर मारेको पाइएको तथा राति नै स्थानीयवासीले हात्तीलाई जङ्गलतर्फ नै धपाएको कमल–५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताउनुभयो । यसअघि समेत त्यस क्षेत्रमा हात्तीले उप्रदो मच्चाउँदै आएको थियो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!