दरौँदीले बगाएर दुई बालक बेपत्ता

Posted on: 07 Aug, 2020

साउन २३, गोरखा। गोरखामा दरौदी नदीले बगाएर दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पालुङटार नगरपालिका–१ खुर्पाजुङ घर भएका १६ वर्षीय सविन श्रेष्ठ र १५ वर्षीय प्रज्ज्वल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो ।

“गोरखा नगरपालिका वडा नं ३ स्थित बेनीखोलामा फुटबल खेल हेर्न खुर्पाजुङबाट चार साथी मिलेर आएका रहेछन्”, उहाँले भन्नुभयो, फुटबल हेरेर फर्कँदै गर्दा नदी तर्ने क्रममा दुई जनालाई बगाएछ ।” बिहीबार दिउँसो बालकलाई नदीले बगाएको थियो । 

लगातारको वर्षाका कारण दरौदी नदीमा पानीको बहाव बढी भएकाले पनि खोजीकार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ  । मझुवा, बाह्रकिलो र चोरकाटेलगायत दरौँदी नदीको आसपासका क्षेत्रमा प्रहरी, स्थानीयवासी र बेपत्ता युवकका आफन्त मिलेर खोजीकार्य जारी रहेको प्रनाउ खतिवडाले जानकारी दिनुभयो । रासस 




यस बिषयमा तपाइको प्रतिक्रिया...!