सिन्धुपाल्चोकका पहिरा विस्थापितको माग :राहत र पुनस्थापना

Posted on: 10 Aug, 2020

साउन २६, सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ स्थित सानो नाम्फाका पहिरो विस्थापितले तत्काल राहत र पुनस्र्थापनाको पहल गरिदिन माग गरेका छन् ।  गत असार २६ गते राति गएको भीषण पहिराबाट पूर्ण रुपमा विस्थापित २९ घरपरिवारले आफूहरुलाई स्थानीय सरकारले समेत बेवास्ता गरेको गुनासो गर्दै तत्काल राहतको माग गरेका हुन् । आइतबार अनुगमन र सहजीकरणका लागि पुगेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माधव सापकोटासहितको पार्टी प्रतिनिधिसँग स्थानीयवासीले आफ्नो समस्या पोखेका हुन् ।

पहिरापछि सानो नाम्फाका २९ घरपरिवार ठूलो नाम्फामा अर्काको बारीमा अस्थायी टेन्ट हालेर बसेका छन् । त्यहाँ पनि सञ्चगाउँको ठूलो ढुङ्गा जुनसुकै बेला खसेर समस्या हुन सक्ने भन्दै विस्थापित चिन्तित छन् । २०७२ सालमा गएको भूकम्पले बस्ती पूरै क्षति भएपछि सरकारले दिएको राहतको सदुपयोग गर्दै उनीहरुले घर बनाएका थिए । घरमा बसेको बर्ष बित्न नपाउँदै बस्तीको दुवैतर्फ पहिरा गएपछि र घरहरुको बीचबीचमा समेत चिरा परेपछि उनीहरु थातथलो छोड्न बाध्य भएका हुन् । आइतबार भएको छलफलमा विस्थापितले तत्कालका लागि राहतका साथै स्थायी बसोबासको व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरेका हुन् । उनीहरुले हाइड्रोपावरले समेत सुरुङ खन्ने क्रममा लापरबाही गरेको दाबी गर्दै क्षतिपूर्तिको माग गरे ।

छलफलमा नेता सापकोटाले आफूहरु हरेक विपत्तिमा जनतासँगै रहेको स्पष्ट गर्दै यस पटक पनि सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सञ्चगाउँको ठूलो ढुङ्गा व्यवस्थापन गरिने बताउँदै हाइड्रोपावर सम्बद्ध अधिकारीहरुसँग पनि छलफलका लागि सहजीकरण गरिने बताउनुभयो । उहाँले पीडितको मागलाई सम्बोधन गर्न हाइड्रोपावर र सरकारसँग छिट्टै छलफल गरिने प्रतिबद्धता दोहोर्याउनुभयो ।

स्थानीय विस्थापितहरुसँग भएको छलफलमा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा सुबोधसहित नेकपा जुगल गाउँपालिकाका अध्यक्ष पदम श्रेष्ठ, सहइन्चार्ज रेशम स्याङ्बो, सचिव लक्ष्मण दोङ, नेता जेपी सिलवाललगायत सहभागी हुनुभएको थियो । छलफलका सहभागीले दुःखका बेला सम्झेकामा नेतृत्वलाई धन्यवाद ज्ञापन गर्दै आफ्ना मागबारे गम्भीर भइदिन विशेष आग्रह गरेका थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!