बागलुङका पहिरो पीडितलाई गाउँपालिकाले घर बनाइदिने

Posted on: 12 Aug, 2020

साउन २८, गलकोट । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले पहिराले घरबार गुमाएका पानबहादुर रसाइलीको घर बनाइदिने भएको छ । यही साउन १२ गते राति अविरल वर्षाका कारण तमानखोला २ खोलेसबाङमा गएको पहिराले भत्किएको रसाइलीको घर गाउँपालिकाले निर्माण गरिदिने भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो ।  

पहिराका कारण रसाइलीको घर पुरिँदा उहाँकी श्रीमती हुमकुमारीको घाइते अवस्थामा उद्धार गरिएको थियो भने १३ वर्षीय छोरा खिमबहादुर र ११ वर्षीया छोरी रीताको मृत्यु भएको थियो । “पहिरोका कारण घर पुर्दा दुई सन्तान नै गुमाउनपुर्यो”, अध्यक्ष बुढाले भन्नुभयो, “दुई परिवार गुमाएको पीडा त छँदैछ, घरसमेत नरहेकाले घर बनाइदिने निर्णय गरेका छौंँ ।”

पहिरो पीडित परिवारलाई गाउँपालिकाका तर्फबाट अध्यक्ष बुढा मगरले राहतस्वरुप रु एक लाख ५० हजार मङ्गलबार हस्तान्तरण गर्नुभयो । उहाँले तत्काल राहतका लागि उक्त रकम प्रदान गरिएको र घर बनाउनका लागि गाउँपालिकाले थप रु दुई लाख ५० हजार प्रदान गर्ने गाउँ कार्यपालिकाले निर्णय गरेको उहाँको भनाइ छ । रसाइली परिवारलाई घरसमेत गुमाएपछि हातमुख जोर्न समस्या भएकाले लत्ताकपडा तथा खाद्य पदार्थ खरीद गर्नका लागि सहयोग गरिएको हो ।

अविरल वर्षासँगै आएको पहिराका कारणले घरमा आंशिक क्षति पुर्याएको फूलकुमारी रसाइलीको परिवारलाई पनि रु १५ हजार सहयोग हस्तान्तरण गरिएको छ । पीडित परिवारको घरबास नै नभएकाले गाउँपालिकाले घर निर्माण गर्न रु दुई लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको र तत्कालै जग्गा व्यवस्थापन गरी घर निर्माण थालिने गाउँपालिका अध्यक्ष बुढाले बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!