मोरङमा १, सप्तरीमा १, बुटवलमा २ र ललितपुरमा २ कोरोना संक्रमितको मृत्यु

Posted on: 12 Aug, 2020

साउन २८, काठमाडौँ | बुधबार प्राप्त जानकारी अनुसार बिभिन्न जिल्लाका अस्पतालहरुमा कोरोना संक्रमितको मृत्यु भएको छ । 

मोरङमा एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

मृतक पुरुष मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका बासिन्दा हुन । श्वाश्सप्रश्वासमा समस्या र ज्वरो देखिएका पुरुषलाई गम्भिर अवस्थामा २६ साउनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साउन २६ मा भर्ना गरिएको थियो ।

सप्तरीमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित सप्तरीमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या तीन पुगेको छ । 

मंगलबार राति सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्वको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनलाई चार दिनअघि ज्वरो आएको थियो । ज्वरो आउँदा उनले स्वाब परीक्षण गर्न दिएका थिए । मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा ल्याउन एम्बुलेन्स पुगेको थियो । एम्बुलेन्समा चढेलगत्तै उनको मृत्यु भएको हो । उनि यसअघि मुटु सम्बन्धी रोगी थिए भने थाइराइड, सुगर, उच्च रक्तचापबाट समेत पीडित थिए ।

बुटवलमा दुई जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा दुई जनाको मृत्यु भएको हो । उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तु-२ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको गएराति मृत्यु भएको हो ।

साउन २५ गते अस्पताल भर्ना भएका कृष्णकुमार गुप्तामा कोरोना संक्रमण पुष्टि भैसेको छ भने साउन २७ गते अस्पताल भर्ना भएका प्रदीप तेलीको स्वाब परीक्षण हुन बाँकी छ । भारतको मुम्बईबाट केही दिनअघि घर आएका तेलीलाई मंगलबारदेखि भेन्टिलेटरमा राखिएको थियो । 

ललितपुर स्थित पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक जनकपुरकी ३८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य कार्यालय ललितपुरले उनको मृत्यु बुधबार भएको पुष्टि गरेको छ ।

यस्तै ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिएका छन् । पाठकका अनुसार ती महिलाको बुधबार बिहान नै कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

उनलाई यही साउन २६ गते पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो । उनमा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!