पहिरामा परेर १७ को मृत्यु, २८ बेपत्ता

Posted on: 14 Aug, 2020

साउन ३०, काठमाडौँ | मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर आज एकै दिन १७ जनाको मृत्यु भएको छ । अन्य २८ जना बेपत्ता छन् । 

सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको छ । त्यसगाउँमा मात्रै १० जनाको मृत्यु भएको र अन्य २८ जना बेपत्ता रहेका गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी ओस्तीले जानकारी दिनुभयो । बेपत्ता भएकाको खोजी जारी छ । 

स्थानीयवासीले जोखिम क्षेत्र पहिचान गरी उच्च सावधानी अपनाउँदै आए पनि अन्ततः पहिराबाट जोगिएनन् । स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै बस्ती व्यवस्थापन गर्न मागसमेत गरे पनि सुनुवाइ हुन सकेको थिएन ।

आजै सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापाले पहिराग्रस्त क्षेत्र पुगेर स्लथगत अनुगमन गर्नुभएको छ । पाँच घाइतेलाई उपचार गरेर अस्पताल ल्याइएको छ । यस्तै सरकारबाट टेन्ट त्रिपालसहित केही राहत सामग्रीसमेत पुर्याईएको छ । 

ओस्तीका अनुसार कालीकोटको महावै गाउँपालिका–३ नकुमा पनि पहिरामा परेर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते छन् । माथिबाट पहिराले उनीहरुको घर थिचेको थियो ।

मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित एक ढुङ्गाखानीमा माथिबाट पहिरो खस्दा आज एक जनाको मृत्यु भएको ओस्तीले जानकारी दिनुभयो । सोही क्रममा एउटा स्काभेटर र टिप्परमा क्षति भएको छ ।

यो वर्षको वैशाखदेखि आजसम्म पहिरामा परेर २०६ जनाको मृत्यु भएको छ । अझै ७१ जना बेपत्ता छन् । १६० भन्दा बढी घाइते भएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!