कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाको विश्वास

Posted on: 15 Aug, 2020

साउन ३१, (रासस/एएनआई) । कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गर्नुभएको हो । 

“मलाई रुसले बनाएको भनिएको खोपका बारेमा धेरै थाहा छैन, तर त्यो प्रभावकारी, उपयोगी हुन्छ र त्यसले काम गर्छ भन्ने मलाई विश्वास छ,” उहाँले भन्नुभयो । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसमा भएको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उहाँले रुसी खोपका बारेमा सकारात्मक धारणा राख्नु भएको हो । कोरोनाभाइरस विरुद्धको खोप तयार पार्न रुस विश्वको पहिलो राष्ट्र हुने पनि उहाँको भनाई छ । 

“मलाई जानकारी भएसम्म कोरोनाभाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वकै पहिलो मुलुक भएको छ, यो दर्ता भइसकेको पनि मैले थाहा पाएको छु,” उहाँले बताउनुभयो । उहाँले चाडै नै ठूलो मात्रामा सो खोपको उत्पादन र प्रयोग हुन थाल्ने विश्वास पनि व्यक्त गर्नुभयो । राष्ट्रपति ट्रम्पले यो साह्रै नै महत्वपूर्ण रहेको पनि बताउनुभयो ।

आधारभूत प्रक्रियाहरु पूरा गर्ने र परीक्षण सवै सफल भएपछि आधिकारीक निकायले त्यसको प्रयोगका लागि स्विकृति दिने उहाँको भनाई छ । नयाँ खोप प्रक्रियामा गएको छ र अहिलेसम्म सकारात्मक नतिजा आएको थाहा पाउँदा आफूहरुलाई अन्त्यन्त धेरै खुशी लागेको उहाँले बताउनुभयो । 

उहाँले अमेरिकमा पनि केही बैज्ञानिकहरुले तीन ओटा खोपलाई परीक्षण गरिरहेको र त्यो अहिले तेस्रो चरणमा पुगेको जानकारी दिनुभयो । अहिलेसम्म औषधीको औपचारिक प्रयोग गर्न नपाएर विश्वभरी महामारीको रुपमा फैलिएको कोरानोभाइरसविरुद्ध विश्वभरी धेरै बैज्ञानिकहरुले औषधी बनाइरहेको दाबी गरेका छन् ।तर ती सवै परीक्षणका क्रममा रहेका छन् भने अहिलेसम्म विश्वस्वास्थ्य संगठनले कसैलाई पनि कोरोनाको औषधीको मान्यता दिएको छैन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!