दुर्घटनामा प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते

Posted on: 19 Aug, 2020

भदौ ३, कास्की | पोखरामा गए राति भएको सवारी दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ भने अर्का प्रहरी हवल्दार घाइते भएका छन् । वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग१ब ३६९ नंको मोटरसाइकलाई गए राति १:०५ बजेको समयमा प्रस्याङबाट मालेपाटन आउँदै गर्र्दा सोही दिशाबाट आएको ग२च २६२६ नंको बोलेरो जिपले प्रस्याङ विश्वास पेट्रोलपम्प नजिक ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइएकामा मोटरसाइकल चालक प्रहरी जवान पाल्पा घर भएका २० वर्षीय चन्द्रबहादुर बगालेको उपचारका क्रममा राति १:५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

घाइते प्रहरी हवल्दार बर्दिया मैनापुर–२ घर भएका ३४ वर्षीय डम्बरबहादुर थारूको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने जिप र चालक प्रहरी नियन्त्रणमा रहेको प्रनाउ हमालले जानकारी दिनुभयो । 

रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!